काठमाडौं , वैदेशिक रोजगारीमा जाने युवाको संख्या वृद्धि भएसँगै देशमा विप्रेषण (रेमिटेन्स) आप्रवाहले ऐतिहासिक रेकर्ड कायम गरेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक प्रतिवेदनअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा (साउनदेखि जेठसम्म) १५ खर्ब ३२ अर्ब ९३ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ, जुन अघिल्लो वर्षको तुलनामा १५.५ प्रतिशतले बढी हो।
जेठ महिनामात्रै १ खर्ब ७६ अर्ब ३२ करोड रुपैयाँ रेमिटेन्स आएको छ। यसले विदेशी विनिमय सञ्चिति र चालु खाता दुबैलाई सकारात्मक बनाएको छ। विदेशी विनिमय सञ्चिति २५.९ प्रतिशतले बढेर २५ खर्ब ६९ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ। यो सञ्चिति हालको आयातको १७.६ महिनाको वस्तु र १४.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त देखिएको छ।
यस अवधिमा चालु खाता ३ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँले बचतमा रहँदा शोधनान्तर स्थिति ४ खर्ब ९१ अर्ब ४४ करोड रुपैयाँले सकारात्मक देखिएको छ।विदेशबाट आएको प्रत्यक्ष वैदेशिक लगानी पनि उल्लेख्य छ। ११ महिनामा ११ अर्ब ९ करोड रुपैयाँको इक्विटी लगानी भित्रिएको छ, जुन अघिल्लो वर्षको तुलनामा उल्लेखनीय वृद्धि हो।
नेपाल राष्ट्र बैंकका अनुसार बजारमा महँगी पनि घट्दो छ। जेठ मसान्तसम्म वार्षिक उपभोक्ता मुद्रास्फीति २.७२ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्ष ४.१७ प्रतिशत थियो। खाद्य समूहको मुद्रास्फीति ०.५४ प्रतिशत मात्र रहेको छ भने गैरखाद्य समूहको ३.९४ प्रतिशत रहेको छ।
महँगीको तुलनात्मक दर हेर्दा काठमाडौं उपत्यकामा २.७२ प्रतिशत, तराईमा २.५८, पहाडमा २.४८ र हिमाली क्षेत्रमा भने तुलनात्मक रूपमा बढी ४.१८ प्रतिशत मुद्रास्फीति देखिएको छ।