काठमाडौं । जर्मनीको प्रख्यात स्वास्थ्य तथा वेलनेस उपकरण निर्माता ब्युरर जीएमबीएचले अब आधिकारिकरूपमा नेपाली बजारमा प्रवेश गरेको छ । यसअन्तर्गत यसको उत्कृष्ट घरेलु स्वास्थ्य उपकरणहरू देशभरिका उपभोक्ताहरूका लागि उपलब्ध छन् ।
त्रिपुरेश्वर, काठमाडौंमा आयोजित औपचारिक कार्यक्रमका बीच ब्युरर इन्डियाका कन्ट्री म्यानेजर रोहित सैनी र नेपाल ओभरसिज माकेटिङ कर्पोरेटका कार्यकारी निर्देशक राहुल अग्रवालले संयुक्तरूपमा नेपाली बजारमा यसको सुरुवात गरेका हुन् । नेपाल ओभरसिज माकेटिङ कर्पोरेट नेपालका लागि ब्युररको आधिकारिक वितरक हो । ब्युरर इन्डियाका कन्ट्री म्यानेजर रोहित सैनीले ब्युररले सधैँ भरपर्दो र नवप्रवर्तनयुक्त प्रविधिबाट व्यक्तिको जीवनस्तर सुधार गर्नमा ध्यान केन्द्रित गर्दै आएको बताए । सुरुवातमा ब्युररले डिजिटल रक्तचाप नाप्ने मेसिन, श्वासप्रश्वाससम्बन्धी हेरचाहका लागि नेबुलाइजरहरू, रगतको चिनी मापन गर्ने ग्लुकोमिटरहरू र डिजिटल थर्मोमिटरहरू नेपाली बजारमा ल्याउने जनाएको छ ।
यी सबै उपकरणहरू उत्कृष्ट जर्मन इन्जिनियरिङ, सजिलो प्रयोग, र मेडिकल–ग्रेड शुद्धताका लागि विश्वभर ख्यातिप्राप्त छन् । नेपाल ओभरसिज माकेटिङ कर्पोरेटका निर्देशक राहुल अग्रवालले गुणस्तर, भरोसा र नवप्रवर्तनको प्रतीक बनेको ब्रान्ड ब्युररलाई नेपालमा ल्याउन पाउँदा गौरवान्वित भएको बताए । घरमै स्वास्थ्य जाँच गर्ने प्रवृत्ति बढ्दो अवस्थामा रहेको यस समयमा ब्युररका उत्पादनहरू अत्यन्तै उपयुक्त र परिवर्तनकारी सावित हुने उनको भनाइ छ । दिगोपन, गुणस्तर, नवीनता र जन–प्रतिबद्धतामा आधारित ब्युररको ब्रान्ड दर्शनले भरपर्दो बिक्रीपछिको सेवा र कम्पनीको सशक्त वितरण सञ्जालमार्फत देशव्यापी पहुँच पनि सुनिश्चित गर्ने जनाइएको छ । अब नेपाली परिवारहरूले विश्वस्तरीय स्वास्थ्य प्रविधि घरमै अनुभव गर्न सक्नेछन् ।
सन् १९१९ मा स्थापना भई जर्मनीको उल्ममा मुख्यालय रहेको ब्युरर हाल एक सय ४० भन्दा बढी देशहरूमा सञ्चालनमा छ । नेपालमा यसको सुरुवातले विश्वभरका घरपरिवारहरूलाई सहज, प्रयोगमैत्री र चिकित्सा–प्रमाणित स्वास्थ्य समाधानहरू उपलब्ध गराउने कम्पनीको लक्ष्यमा नयाँ उपलब्धि थपेको छ ।