काठमाडौं । अटोमोटिभ टेक्नोलोजीमा चर्चित जर्मन कम्पनी बोसले डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोस’ सुरुवात भएको घोषणा गरेको छ ।
बोसको नेपालका लागि आधिकारिक वितरक सत्यदिप इन्टरनेसनलसँगको सहकार्यमा हालै एक कार्यक्रम गरी कम्पनीले यसवारे जानकारी दिएको हो । काठमाडौंका स्थानीय मेकानिकलाई लक्षित गरी ल्याइएको कार्यक्रमले वोश ब्रान्डको स्पेयर पाट्र्सको बजारीकरणमा महत्वपूर्ण योगदान दिने विश्वास लिइएको छ । कार्यक्रममा स्थानीय वितरक, मेकानिक्स र बोस भारतका विशिष्ट व्यक्तित्वसहित एक सय ५० जना बढी सहभागी थिए । नेपाली बजारकै लागि भनेर विशेषरूपले डिजाइन गरिएको यस एप बोस प्लेटफर्ममा दर्ता भएका मेकानिक्सलाई लक्षित गरी ल्याइएको हो ।
कार्यक्रममा बोस मोबिलिटी आफ्टर मार्केट भारतकी क्षेत्रीय अध्यक्ष तथा सार्क प्रमुख रिथी सेठीले नेपाल अटोमोटिभ आफ्टर मार्केट क्षेत्रको लागि एक महत्वपूर्ण बजार रहेको बताइन् । ‘हाम्रो बोस’ कार्यक्रमले स्थानीयस्तरमा खुलेका ग्यारेजलाई ओरिजिनल बोस पार्टपुर्जाको बढ्दो प्रयोगको लागि आकर्षक अंक र प्रोत्साहन प्रदान गर्ने भएकाले यस मोबाइल एपमार्फत पोइन्टहरू ट्«याकिङ र रिडिम गर्न सहज अनुभव प्रदान गर्ने उनको भनाई थियो । बोस नेपालका कन्ट्री म्यानेजर सन्दीप कामतले नेपालमा उन्नत उत्पादनहरू र प्रविधिहरू परिचय गराउनमा बोस सधैं अग्रणी रहेको बताए । सत्यदीप इन्टरनेसनलका प्रबन्ध निर्देशक दीपेन्द्र मिश्रले २० वर्षभन्दा बढी समयदेखि नेपाली बजारमा बोससँग आबद्ध हुन पाउनु गर्वको विषय रहेको बताए । अटोमोटिभ क्षेत्रबाहेक बोसले विश्वभर पावर टुल्स, विल्डिङ टेक्नोलोजिज र बोस होम अप्लायन्सेसमा नवीन उत्पादनहरू बिक्री गर्दै आएको छ ।