नवलपुर (नवलपरासी) । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवलखण्डको दाउन्नेमा गए रातिदेखि परेको वर्षाका कारण पहिरोले सडक बगाउँदा राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । दाउन्ने नजिक बर्दघाट–४ खुर्सानी खोलामा आएको पहिरोले सडकको केही भाग बगाउँदा बुधबार बिहानबाट राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु१क ५८२७ नम्बरको मालवाहक ट्रक पहिरोका कारण सडकको बीचमा फसेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरदत्त पन्तले बताए । उनका अनुसार पहाडमाथिबाट पहिरो खस्दा सडकको केही भागसमेत बगेको छ । “पहिरोले ट्रकसमेत केही पुरिएको छ, केही सडक बगेको छ, केही सडक चर्किएको अवस्थामा छ”, उनले भने, “अहिले पानी पर्न बन्द भएका कारण स्काभेटर प्रयोग गरेर पहिरोमा फसेको ट्रक निकाल्ने र पहिरो सफा गर्ने काम सुरु भएको छ ।”
सडकमा करिब ५० मिटर खसेको पहिरो हटाउनका लागि सडक योजनाका कर्मचारी, प्रहरी तथा सुरक्षाकर्मी खटिएको पन्तले बताए । चार लेनमा विस्तार भइरहेको यस सडकको दाउन्ने खण्डमा सामान्य बर्सा हुँदा यातायात अवरुद्ध हुने गरेको उनको भनाइ छ ।