काठमाडौं । उच्च अदालत पाटनले काठमाडौंको पुरानो बसपार्कस्थित काठमाडौं टावरको निर्माण रोक्न नपाउने आदेश दिएको छ। काठमाडौं महानगरपालिकाले निर्माण कार्य रोक्न दिएको आदेशविरुद्ध ठेकेदार कम्पनी स्वच्छन्द बिकोई बिल्डर्स अदालत पुगेपछि न्यायाधीश प्रकाश खरेलको एकल इजलासले अन्तरिम आदेश दिएको हो।
अदालतले टावरको नक्सा स्वीकृत भइसकेको, तलावृद्धिको स्वीकृति लिइसकेको र सबै दस्तुर तिरेको आधारमा निर्माण कार्य रोक्नु उचित नहुने ठहर गरेको छ। अदालतको आदेशसँगै ठेकेदार कम्पनीलाई निर्माण कार्य अघि बढाउन बाटो खुलेको छ।
यसअघि ९ माघ २०८१ मा काठमाडौं महानगरले निर्माण रोक्न पत्र पठाएको थियो। १२ तला स्वीकृत टावरलाई १९ तलाको अनुमति दिएको विषयमा विवाद चुलिँदा मेयर बालेन शाहले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि छानबिन समिति समेत गठन गरेका थिए। प्रशासकीय विवादका कारण हालसम्म महानगरको बजेटसमेत पास हुन सकेको छैन।