काठमाडौं । केन्द्रीय अनुशासन समितिले २०७९ को स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा पार्टीका उम्मेदवार वा समर्थित उम्मेदवारमाथि असहयोग गरेको आरोपमा डेढ दर्जन नेता–कार्यकर्तालाई निष्कासन र निलम्बन गरेको छ।
पार्टीका महासमिति सदस्यदेखि स्थानीय तह सभापतिसम्मका नेताहरू सामाजिक सञ्जाल र अन्य माध्यमबाट पार्टीविरुद्ध सक्रिय भएको प्रमाण पाएपछि कारबाही गरिएको अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुङ्गानाले बताएका छन्।
कारबाहीमा तेह्रथुम, कास्की, लुम्बिनी, खोटाङ, पर्सा, धनुषा, कैलाली लगायतका जिल्लाका नेताहरू परेका छन्। नेपाली कांग्रेसको विधान २०१७ अनुसार ६ महिना देखि १ वर्षसम्म सदस्यता निलम्बन र निष्कासन गरिएको छ।
