काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा सिफारिस भएकामध्येबाट प्रा डा दीपक अर्याल नियुक्त भएका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको संयोजकत्वमा गठित सिफारिस समितिले यही असार २३ गते प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस गरेको थियो । सोही नामबाट प्रधानमन्त्री ओलीले प्रा डा अर्याललाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।
उपकुलपति नियुक्त भएपछि अर्यालले बुधबार नै प्रधानमन्त्री एवं कुलपति ओलीसमक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको कार्यक्रममा कुुलपति ओलीसमक्ष उपकुलपति डा अर्यालले सपथ लिएका हुन् ।
समितिले वर्णानुक्रमअनुसार हालका निमित्त उपकुलपति प्रा डा खड्ग केसी, त्रिविको विज्ञान संकायका पूर्वडीन प्रा डा विनिल अर्याल र जल तथा मौसम केन्द्रीय विभागका पूर्वप्रमुख डा दीपक अर्याललाई सिफारिस गरेको थियो ।
उपकुलपति प्रा डा केशरजंग बरालले दिएको राजीनामा गत चैत २८ गते स्वीकृत भएपछि चैत ३१ गते प्रधानमन्त्री ओलीले शिक्षाध्यक्ष केसीलाई पदपूर्ति नभएसम्मका लागि बढीमा तीन महिनाका लागि उपकुलपतिको जिम्मेवारी दिएका थिए ।