काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह (बालेन्द्र) ले पुरानो बसपार्कमा निमार्णाधीन काठमाडौं भ्यु–टावरको काम रोक्न दिएको आदेश उच्च अदालतले बदर गरेको छ ।
महानगरपालिका मेयर शाहले गएको माघ ९ गतेको चलानी नम्बर ७८ को पत्रमार्फत नक्सापासको काम पूरा नभएको भन्दै काम रोक्न लिखित निर्देशन दिएका थिए ।
काठमाडौं महानगरपालिकाभित्रै काम गर्न दिने प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाई र काम गर्न नदिने मेयर साहको चरम द्वन्द्वको मारमा परेको जलेश्वर स्वच्छन्द बिकोइको तर्फबाट मनोज कुमार भेटवालले मेयर बालेनको निर्णयविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको थिए । सोही मुद्दाको सुनुवाई गर्दै उच्च अदालत पाटनका न्यायाधीश प्रकाश खरेलको इजलासले जलेश्वर स्वच्छन्दलाई काम गर्न रोक नलगाउनू भन्दै बुधबार आदेश दिएको हो ।
नक्सा पास गरिसकेको अवस्थामा समेत घुस मागेर नदिएसँगै काम गर्न रोक लगाइएको भन्ने आरोप लाग्दै आएको महानगरपालिकाले विभिन्न बहानामा विवादको केन्द्र बनाएको काठमाडौं भ्यु–टावरको बाँकी काम गर्न दिनू भन्दै उच्च अदालतले आदेश दिएसँगै काम गर्न रोक्नेहरूको नियतमाथि समेत प्रश्न उठेको छ ।
उच्च अदालतको आदेशअनुसार निर्माण कम्पनीले काठमाडौं महानगरपालिकाबाट भूमिगत दुई तलासहित १२ तल्ले व्यावसायीक भवन बनाउन २०७२ भाद्र ६ गते र महानगरपालिकाबाटै तल्ला थप गर्ने अनुमति पाई २०८१ असोज ११गते भूमिगत दुई तल्लासहित १९ तल्ले भवन निर्माणका लागि अनुमति पाएको पाइएको छ ।
तल्ला थप गर्दा लाग्ने दुर्ई करोड ३० लाख दुई हजार एक सय २८ रुपैयाँ दस्तुर समेत निमार्ण कम्पनीले भुक्तानी गरिसकेको भन्दै अदालतले ‘अन्तिम निरुपण हुँदा ठहरिएबमोजिम हुने गरी’ महानगरको गत माघ ९ गते कार्यान्वयन नगर्नु भन्दै निर्माणको काम जारी राख्न निर्माण व्यवसायीलाई अनुमति दिएको हो ।