काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले एक आपसमा गर्ने कारोबार (अन्तरबैंक कारोबार) घट्दै गएको छ । पछिल्लो समय निक्षेप बढेर तरलता थुप्रिँदै गएपछि बैंक तथा वित्तीय संस्थाले एक आपसमा गर्ने अल्पकालीन कारोबार, अन्तरबैंक कारोबार घटेको हो । निक्षेप प्रशस्त भएपछि बैंक तथा वित्तीय संस्थाले सापटी लिने र दिने क्रम घटेको छ ।
राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा वाणिज्य बैंकहरूले १५ खर्ब ३१ अर्ब २१ करोड रुपैयाँ, विकास बैंक र फाइनान्स कम्पनीहरूले एक खर्ब ५० अर्ब ३३ करोड रुपैयाँको अन्तरबैंक कारोबार गरेका छन् । कुल कारोबार १६ खर्ब ८१ अर्ब ५४ करोड भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २५ खर्ब रुपैयाँ कम हो । गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूले ३७ खर्ब एक अर्ब ४३ करोड रुपैयाँ, विकास बैंक र फाइनान्स कम्पनीहरूले.तीन खर्ब ५९ अर्ब ५५ करोड रुपैयाँ गरी कुल ४० खर्ब ६० अर्ब ९८ करोडको अन्तरबैंक कारोबार गरेका थिए ।
अन्तरबैंक कारोबार घटेपछि यसको असर व्याजदरमा परेको छ । २०८१ जेठमा ९१ दिने ट्रेजरी बिलको भारित औसत व्याजदर दुई दशमलव ९९ प्रतिशत रहेकोमा २०८२ जेठमा यस्तो व्याजदर घटेर दुई दशमलव ९४ प्रतिशतमा झरेको छ । बैंक तथा वित्तीय संस्थाहरूबीचको अन्तरबैंक कारोबारको भारित औसत व्याजदर २०८१ जेठमा दुई दशमलव ९५ प्रतिशत रहेकोमा २०८२ जेठमा दुई दशमलव ९९ प्रतिशत छ । २०८२ जेठमा वाणिज्य बैंकहरूको औसत आधारदर छ दशमलव शून्य नौ प्रतिशत, विकास बैंकहरूको आठ दशमलव २९ प्रतिशत र फाइनान्स कम्पनीहरूको नौ दशमलव दुई प्रतिशत छ । २०८१ जेठमा भने वाणिज्य बैंकहरूको औसत आधारदर आठ दशमलव १७ प्रतिशत, विकास बैंकहरूको नौ दशमलव ९६ प्रतिशत र फाइनान्स कम्पनीहरूको ११ दशमलव ४६ प्रतिशत थियो ।
२०८२ जेठमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत व्याजदर चार दशमलव २९ प्रतिशत, विकास बैंकहरूको पाँच दशमलव दुई प्रतिशत र फाइनान्स कम्पनीहरूको छ दशमलव नौ प्रतिशत छ । २०८१ जेठमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत व्याजदर छ दशमलव १७ प्रतिशत, विकास बैंकहरूको सात दशमलव सात प्रतिशत र फाइनान्स कम्पनीहरूको आठ दशमलव २८ प्रतिशत थियो ।
त्यसैगरी, २०८२ जेठमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत व्याजदर सात दशमलव ९९ प्रतिशत, विकास बैंकहरूको नौ दशमलव ४० प्रतिशत र फाइनान्स कम्पनीहरूको आठ दशमलव २८ प्रतिशत छ । २०८१ जेठमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत व्याजदर १० दशमलव १५ प्रतिशत, विकास बैंकहरूको ११ दशमलव ६३ प्रतिशत र फाइनान्स कम्पनीहरूको ११ दशमलव ८५ प्रतिशत थियो ।
बैंकहरूको शाखा साढे ११ हजार
काठमाडौं । बैंक तथा वित्तीय संस्थाको कुल शाखा संख्या ११ हजार पाँच सय नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंक, १७ वटा विकास बैंक, १७ वटा फाइनान्स कम्पनी र ५२ वटा लघुवित्त वित्तीय संस्थाहरूको कुल शाखा संख्या ११ हजार पाँच सय १९ पुगेको हो ।
यसमध्ये वाणिज्य बैंकहरूको शाखा संख्या पाँच हजार ९५, विकास बैंकहरूको एक हजार एक सय ३२, फाइनान्स कम्पनीहरूको दुई सय ९१ र लघुवित्त वित्तीय संस्थाहरूको पाँच हजार एक वटा छन् । राष्ट्र बैंकका अनुसार २०८१ असार मसान्तमा भने बैंक तथा वित्तीय संस्थाहरूको सञ्चालनमा रहेको कुल शाखा संख्या ११ हजार पाँच सय ३० थियो । जसमध्ये वाणिज्य बैंकहरूको पाँच हजार ५६, विकास बैंकहरूको एक हजार एक सय ३५, फाइनान्स कम्पनीहरूको दुई सय ८८ र लघुवित्त वित्तीय संस्थाहरूको पाँच हजार ५१ वटा शाखा सञ्चालनमा थिए ।