काठमाडौं । विश्वभर समस्याका रूपमा देखिएको आतङ्कवादी क्रियाकलाप दक्षिण एसियाली क्षेत्रमा बढ्न थालेपछि नेपालले पनि यस विषयलाई गम्भीररूपमा लिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
नेपाल इन्स्टिच्युट फर इन्टरनेसनल को–अपरेसन एन्ड इन्गेजमेन्ट (नाइस)द्वारा बुधबार राजधानीमा आयोजित ‘दक्षिण एसियामा आतङ्कवादः क्षेत्रीय शान्ति र सुरक्षाका चुनौती’ विषयक गोष्ठीका वक्ताले आतङ्कवादी क्रियाकलापमा नेपालको भूमि प्रयोग हुन नदिनेतर्फ सबै खालका प्रयास र पहल थालिनुपर्नेमा जोड दिएका हुन् । खुला सीमाना, सम्पत्ति शुद्धीकरण तथा अवैध विदेशी मुद्राको कारोबार, लागूऔषध, साइबर सुरक्षालगायतका चुनौती नेपालका सामु रहेको उल्लेख गर्दै कार्यक्रममा सहभागीहरूले ती समस्याको निवारणका लागि आन्तरिक तथा बाह्य दुवै पहल गरिनुपर्ने बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका सांसद एनपी साउदले नेपाल भू–राजनीतिकरूपले संवेदनशील स्थानमा रहेको उल्लेख गर्दै आतङ्कवाद नियन्त्रणका लागि नेपालको नीति स्पष्ट हुनुपर्ने बताए । ‘हाम्रो सीमाना एकातर्फ चीनको संवेदनशील क्षेत्र मानिने तिब्बतसँग जोडिएको छ भने अर्कोतर्फ भारतसँग खुला सीमाना छ । यस अर्थमा पनि हामी भू–राजनीतिक ढङ्गले संवेदनशील क्षेत्रमा छौँ’, उनले भने, ‘नेपालले आतङ्कवादका विरुद्ध आफ्नो स्पष्ट धारणा राख्दै आएको छ । यद्यपि, यसको सम्बन्ध भूगोल, सीमा, धर्म, राजनीतिक अतिवादजस्ता जुनसुकै कुरामा जोडिएको हुन सक्ने भएकाले हामी चनाखो हुनुपर्छ ।’
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को अध्यक्ष राष्ट्रका हैसियतले नेपालले भारत र पाकिस्तानबीच पछिल्लो समय देखिएको विवाद निरुपण तथा यस क्षेत्रमा आउन सक्ने सम्भावित खतरा टार्न पहल गर्नसक्नुपर्नेमा उनले जोड दिए । कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले आतङ्कवाद नियन्त्रण सबै देश, क्षेत्रीय सङ्घसङ्गठन तथा निकाय र पक्षको सामूहिक जिम्मेवारी रहेको बताए । आतङ्कवाद नियन्त्रणका लागि कूटनीतिक तौरतरिकामा पनि बदलाब ल्याउनु जरुरी रहेको उनको भनाइ छ । पुरातन शैलीले काम नगरेको अवस्थामा कूटनीतिक प्रयास फरक तरिकाले अघि बढाएर समस्या समाधान गर्नुपर्नेमा उनले जोड दिए ।
नेपाली कांग्रेसका सांसद चन्दा चौधरीले राजनीतिक अस्थिरता, सीमा विवाद, धार्मिक कट्टरवाद, आर्थिक असमानताजस्ता कारणले आतङ्कवाद नियन्त्रणमा चुनौती थपिएको उल्लेख गर्दै यस्ता क्रियाकलापमा नेपालको भूमि प्रयोग हुन नदिनेतर्फ सजग हुनुपर्ने बताइन् । राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार सुनिलबहादुर थापाले पछिल्लो समय विश्व व्यवस्था र शक्ति सन्तुलनमा फेरबदल भइरहेकाले यसले अस्थिरता सिर्जना गरेको बताए । विभिन्न देशबीच देखिएको टकराव र द्वन्द्वको स्थिति समाधान गर्न कूटनीतिक संवाद र प्रजातान्त्रिक विधि तथा प्रक्रिया अवलम्बन गरिनुपर्ने उनको भनाइ छ । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले दक्षिण एसियाली क्षेत्रका दुई आणविक शक्ति भारत र पाकिस्तानबीचको वैमनस्यता तथा द्वन्द्वको स्थितिले समग्र दक्षिण एसियाली क्षेत्र प्रभावित हुने बताए ।
नेपालका लागि सबै मुलुक, विकास साझेदार तथा दातृ निकायसँगको सम्बन्ध उत्तिकै महत्वपूर्ण हुने उल्लेख गर्दै रिजालले आफ्नो असंलग्न र तटस्थ परराष्ट्र नीतिलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा नाइसका निर्देशक सुमित्रा कार्कीले पछिल्लो समय विभिन्न देशबीचको बढ्दो तनावसँगै खासगरी दक्षिण एसियाली क्षेत्रमा भारत तथा पाकिस्तानबीचको द्वन्द्वको प्रभाव नेपालमा देखिन सक्ने उल्लेख गरिन् । सबै खालका आतङ्कवादी र अवैध क्रियाकलाप नियन्त्रणका लागि पहल गरिनुपर्नेमा उनले जोड दिइन् ।