काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिद्वारा नेताहरूलाई गरिएको कारबाहीप्रति असन्तुष्टि जनाउँदै नेता डा. शेखर कोइरालाको संयोजनमा आज काठमाडौंस्थित सम्पर्क कार्यालयमा समूह बैठक बसेको छ।
बैठकमा उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियार, नेताहरू अर्जुननरसिंह केसी, बलबहादुर केसी, अनुशासन समिति सदस्य संजय गौतमलगायत केन्द्रीय सदस्यहरूको उपस्थिति थियो।बैठकले कारबाहीलाई अन्यायपूर्ण, एकतर्फी र विधानविपरीत ठहर गर्दै कारबाहीको राजनीतिक प्रतिरोध गर्ने निर्णय गरेको छ।
नेता गुरुङका अनुसार सभापति शेरबहादुर देउवासँग समितिको फाइल अगाडि नबढाउने सहमति भए पनि संयोजक आनन्द ढुंगानाले समितिमा छलफल नै नगरी एकल निर्णयमा कारबाहीको विज्ञप्ति जारी गरेका हुन्। बैठकले कारबाहीको न्यायिक पुनरावलोकन गर्नुपर्ने र देउवालाई प्रक्रिया रोक्न आग्रह गर्ने निष्कर्ष निकालेको छ।