काठमाडौ । युनिलिभर नेपालका मार्गदर्शक हिन्दुस्तान लिभर लिमिटेड (हाल हिन्दुस्तान युनिलिभर लिमिटेड) का पूर्वअध्यक्ष सुसिम मुकुल दत्तको हालै मुम्बईमा ८९ वर्षको उमेरमा निधन भएको छ ।
दक्षिण एसियाली कर्पोरेट जगतका एक प्रभावशाली व्यक्तित्वका रूपमा चिनिएका दत्तलाई नेपालमा युनिलिभर नेपाल लिमिटेडको स्थापना गरेको ऐतिहासिक योगदानका लागि विशेषरूपमा स्मरण गरिन्छ, जसले नेपालको उपभोक्ता सामग्री (एफएमसीजी) उद्योगलाई नयाँ उचाइमा पु¥याएको थियो । हिन्दुस्तान लिभरमा उनको चार दशकभन्दा लामो कार्यकाल रह्यो । अध्यक्षको भूमिकामा रहँदै उनले कम्पनीलाई रणनीतिकरूपमा विस्तार र तीव्र प्रगतिको मार्गमा डोर्याएका थिए । उनका थुप्रै उपलब्धिहरूमध्ये नेपालमा विस्तार गर्ने उनको दृष्टिकोण क्षेत्रीय औद्योगिक विकासको एक ऐतिहासिक मोडको रूपमा स्मरणीय रहेको युनिलिभर नेपालले जनाएको छ ।
दत्तको अगुवाइमा सन् १९९२ मा युनिलिभर नेपाल लिमिटेडको स्थापना भएको थियो । उनी स्वयंले हेटौँडास्थित कारखानाको स्थापना प्रक्रिया प्रारम्भ गरेका थिए । हाल हेटौँडा कारखानाले लाखौँ नेपाली उपभोक्तालाई गुणस्तरीय उत्पादनहरू प्रदान गर्दै देशको अर्थतन्त्रमा उल्लेखनीय योगदान पु¥याइरहेको छ । सन् १९९६ मा सेवा निवृत्त भएपछि पनि उनले दिगोपन, उत्तरदायी व्यापार र नैतिक नेतृत्वजस्ता मूल्यहरूमा निरन्तर जोड दिएका थिए ।