काठमाडौ । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले वर्ल्डलिङ्क सङ्ग्रहालयको स्थापना गरेको छ । कम्पनीले आफ्नो ऐतिहासिक उपलब्धि, प्रविधिमा पुर्याएको योगदान तथा संघर्षसहितको गौरबपूर्ण विगतलाई समेट्ने गरी ललितपुरको कुसुन्तीमा सङ्ग्रहालयको स्थापना गरेको हो ।
सङ्ग्रहालयमा वर्ल्डलिङ्कले स्थापना कालदेखि अहिलेसम्म, इमेल/इन्टरनेट, डायलअप, भी–स्याट, वायरलेस, केवल इन्टरनेट तथा एफटीटीएच यात्रामा प्रयोग गरेका विभिन्न प्रविधियुक्त उपकरणहरू राखिएको छ । यी उपकरण र प्रविधि प्रयोगबाहिर गइसकेका छन्, तर ती नेपालको इन्टरनेट इतिहासको संस्मरणका लागि निकै महत्वपूर्ण छन् । इतिहास झल्किने यस्ता प्रविधिलाई एकै स्थानमा सुरक्षित र संग्रहितरूपमा राख्नु कम्पनीले आफ्नो कर्तव्य र सामाजिक दायित्व ठानेको जनाएको छ । वर्ल्डलिङ्क सङ्ग्रहालयलाई अध्ययन, अवलोकन, अनुसन्धान लागि राखिएको हो । यो सङ्ग्रहालय भविष्यमा नेपालको इन्टरनेट प्रविधिको विकासक्रमको अध्ययन गर्ने र ज्ञान बटुल्ने साझा थलो बन्ने कम्पनीको विश्वास छ ।
सङ्ग्रहालयबाट नेपालमा सूचना प्रविधि अध्ययन गरिरहेका विद्यार्थी, अनुसन्धानकर्ता, इतिहासविद, लेखक, सञ्चारकर्मीलगायतलाई विगतका प्रविधिहरू अवलोकन गर्न, सिक्न र बुझ्न सहयोग पुग्नेछ । यसले विद्यार्थी, अनुसन्धानकर्ता तथा प्राविधिक वर्गलाई इन्टरनेट प्रविधिको क्रमिक विकास तथा नेपालको डिजिटल यात्रामा वर्ल्डलिङ्कको भूमिका बुझ्न महत्वपूर्ण आधार प्रदान गर्ने कम्पनीले जनाएको छ । वर्ल्डलिङ्कले देशका दुर्गम गाउँदेखि सहरसम्म इन्टरनेट सेवा पुर्याउँदै डिजिटल पहुँचलाई सरल बनाएको छ । ‘यो सङ्ग्रहालय त्यही यात्राको प्रतिविम्ब हो, जसले नेपालमा प्रविधिको विकास र विस्तारमा वर्ल्डलिङ्कले पुर्याएको योगदानलाई अमर बनाउनेछ’, कम्पनीद्वारा जारी विज्ञेप्तीमा उल्लेख छ ।
सङ्ग्रहालयमा डायलअप इन्टरनेटमा प्रयोग भएका उपकरण तत्कालीन कम्पुटर मोडेम वायरलेसमा प्रयोग भएका डिस्क, तत्कालीनरूपमा प्रयोग भएका यफटिटियचका पुराना उपकरण राखिएको छ । सङ्ग्रहालय अवलोकन गर्न शुक्रबार १० बजेदेखि ४ बजेसम्म कलेज अध्यनरत विद्यार्थीहरूलाई खुला गर्ने कम्पनीका प्रतिनिधि किरणराज गौतमले जानकारी दिए । उक्त सङ्ग्रहालयको कम्पनीका अध्यक्ष दिलीप अग्रवाल, सह–संस्थापक तथा कार्यकारी निर्देशक मनोज अग्रवाल, कम्पनीका प्रमुख कार्यकारी अधिकृत केशव नेपालको उपस्थितिमा उद्घाटन गरिएको हो ।