नयाँदिल्ली । भारतको पश्चिमी राज्य राजस्थानमा बुधबार एक प्रशिक्षक जहाज दुर्घटनाग्रस्त हुँदा भारतीय वायुसेनाका दुई पाइलटको मृत्यु भएको भारतीय वायुसेनाले जनाएको छ । राजस्थानको चूरु जिल्लामा सामान्य प्रशिक्षण मिसनको क्रममा उक्त जगुआर प्रशिक्षक जहाज दुर्घटनामा परेको थियो ।
भारतीय वायुसेनाले सामाजिक सञ्जालमार्फत जनाएको छ, ‘सामान्य प्रशिक्षणका क्रममा चूरु नजिक प्रशिक्षक जहाज दुर्घटना हुँदा दुवै पाइलटले ज्यान गुमाउनुभएको छ । यस घटनामा कुनै नागरिक सम्पत्तिमा क्षति भएको छैन ।’ यस दुर्घटनाको कारण बुझ्न र थप अनुसन्धान गर्न छानबिन समिति गठन गरिएको छ । रासस/सिन्ह्वा