वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्धलाई लिएर मस्कोविरुद्ध थप प्रतिबन्ध लगाउने विचार गरिरहेको बताएका छन् । ह्वाइट हाउसमा भएको मन्त्रीपरिषद्को बैठकमा बोल्दै ट्रम्पले द्वन्द्वको प्रतिक्रियामा रुसमाथि थप प्रतिबन्ध लगाउने सिनेटको विधेयकलाई समर्थन गर्ने कि नगर्ने भनेर विचार गरिरहेको बताएका हुन् ।
विधेयकमा रुसबाट ऊर्जा आयात गर्ने देशहरूमा भारी शुल्क लगाउने प्रावधान साथै रूसी ऊर्जा उत्पादनलाई समर्थन गर्ने विदेशी कम्पनीहरूमा पनि प्रतिबन्ध लगाउने समावेश रहेको जनाइएको छ ।
अमेरिकी रक्षा विभागले हतियार तयारीको समीक्षा गरेपछि युक्रेनका लागि अस्थायीरूपमा स्थगित गरिएको रक्षात्मक हतियार ढुवानी पुनः सुरु गर्न स्वीकृति दिएको पनि ट्रम्पले मंगलबार घोषणा गरेका थिए ।
युक्रेनलाई हतियार आपूर्ति रोकेकोमा ट्रम्पको असन्तुष्टि
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले युक्रेनलाई हतियार आपूर्तिमा प्रतिबन्ध लगाएपछि राष्ट्रपति ट्रम्पले असन्तुष्टि व्यक्त गरेका छन् । पेन्टागनले ट्रम्पलाई जानकारी नदिई आपूर्तिमा प्रतिबन्ध लगाएको थियो ।
यो निर्णयबाट अचम्मित हुँदै ट्रम्पले सोमबार युक्रेनलाई फेरि हतियार पठाउन आदेश दिएका थिए । गत हप्ता पेन्टागनले अमेरिकाले हाल युक्रेनलाई हवाई रक्षा क्षेप्यास्त्र, सटिक निर्देशित तोपखाना, प्याट्रियट र हेलफायर जस्ता क्षेप्यास्त्रहरूको आपूर्ति रोकेको जनाएको थियो ।
यसको पछाडिको कारण अमेरिकाको आफ्नै स्टकमा यी हतियारहरूको अभाव हुनु थियो । यसमा अमेरिकी रक्षा सचिव पिट हेगसेथले हस्ताक्षर गरेका थिए ।