काठमाडौं, नेपालको अर्थतन्त्रको आकार चालू आर्थिक वर्षमा ६१ खर्ब रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ५७ खर्बभन्दा ४ खर्ब रुपैयाँले वृद्धि हो। अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार राजस्व संकलन पनि ७७.३४ प्रतिशतले वृद्धि भई १० खर्ब ९७ अर्ब पुगेको छ। पुँजीगत खर्च ३६ अर्बले, रेमिट्यान्स १५.५ प्रतिशतले वृद्धि भएको छ। चालू वर्षको ११ महिनामा १५ खर्ब ३२ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।नेप्से परिसूचक पनि एक वर्षमा २,१०० बाट बढेर २,७०५ विन्दुमा पुगेको छ। निजी क्षेत्रमा प्रवाहित कर्जा ८.७ प्रतिशतले बढेको छ। मन्त्रालयले निर्यात ७७.८% र आयात १३.१% ले वृद्धि भएको जनाएको छ। ४९२ अर्बको शोधानान्तर बचत र १८.६५ अर्ब डलरको विदेशी मुद्रा सञ्चितिले १४ महिनाको आयात धान्ने अवस्था बनाएको छ। यातायात, निर्माण, व्यापार, बैंक, कृषि, शिक्षा, सूचना प्रविधि लगायत १८ क्षेत्रका सूचकहरू सकारात्मक रहेका छन्। तथापि, मन्त्रालयले राजस्व लक्ष्य, पुँजीगत खर्च र ग्रे लिस्टबाट मुक्त हुने चुनौतीहरू अझै विद्यमान रहेको जनाएको छ।