काठमाडौं, नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठ कमिसन काण्ड, आफ्नै कम्पनीलाई आईपीओ अनुमति र बिचौलियासँगको सम्बन्ध आरोपसहित सांसदहरूको कडा घेराबन्दीमा परेका छन्।
बिहीबार बसेको संघीय संसद्को अर्थ समितिको बैठकमा सांसदहरूले श्रेष्ठलाई “रेफ्री भएर आफैँ खेलाडी बन्न खोजेको”, “बोर्डलाई स्वार्थ समूहको भागबण्डामा चलाएको”, “कमिसनको खेल प्रिपेड करप्सन जस्तै भएको” भन्दै आलोचना गरे।
पूर्वअर्थमन्त्री वर्षमान पुनले श्रेष्ठको शैलीलाई "खेलमा रेफ्री आफैँ खेल्ने" जस्तो भनेका छन्। उनले आफ्नै लगानी रहेको बुङगल हाइड्रोको आईपीओ अनुमति दिनु, अरु जलविद्युत कम्पनीको प्रस्ताव रोक्नु पारदर्शिताको खिल्ली उडाएको बताए।
रास्वपा सांसद डा. स्वर्णिम वाग्लेले दोस्रो स्टक एक्सचेन्जको निर्णयलाई "भयानक गल्ती" र “भ्रष्ट नेताहरूसँग साँठगाँठको नतिजा” भने। उनले “२०८४ पछि यस्ता निर्णय सबै खारेज हुन्छन्” भनेर चेतावनी पनि दिए।
सांसद मेटमणि चौधरीले श्रेष्ठमाथि “कमिसन मागेको र फास्ट ट्रयाकबाट आफ्नोलाई फाइदा दिने” आरोप लगाए। सांसद गंगा कार्कीले भने, “एउटा ढोका बन्द गरेर अर्को खोल्ने काम सरकारबाट हुँदैछ।”
प्रतिक्रियामा अध्यक्ष श्रेष्ठले भने, "म पदमा बस्ने छु भनेकै छु तर मेरो स्वार्थ मिलेको प्रमाण आयो भने एक छिन पनि बस्दिन।” उनले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया नरोकिने बताएका छन्।