काठमाडौं । नेपाल राष्ट्र बैंकले चेक अनादर गरेको व्यहोरा प्रमाणित गर्ने कार्यविधि, २०८२ कार्यान्वयनमा ल्याएको छ । राष्ट्र बैंकले बिहीबार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरू समेतको नाममा परिपत्र जारी गर्दै यो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।
राष्ट्र बैंकका अनुसार चेक अनादर गरेको व्यहोरा प्रमाणित गर्ने कार्यविधि, २०८२ खातामा रकम मौज्दात नभएको वा मौज्दात पर्याप्त नभएको कारण चेक अनादर हुने अवस्थामा धारकले चेक अनादर भएको प्रमाणित गराउन चाहेमा बैंक वा वित्तीय संस्था वा सहकारी बैंकले चेक अनादर भएको प्रमाणित गर्ने प्रयोजनका लागि बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ (दोस्रो संशोधन, २०८२ समेत) को दफा ३क. को उपदफा (७) र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ११० को उपदफा (३) ले दिएको अधिकार प्रयोग गरी यो कार्यविधि बनाई लागू गरिएको हो ।
परिपत्रअनुसार चेक अनादर गरेको व्यहोरा प्रमाणित गर्ने प्रक्रिया कसैले पनि आफ्नो खातामा रकम मौज्दात नभएको वा मौज्दात पर्याप्त नभएको अवस्थामा चेक जारी गर्नुहुँदैन । मौज्दात नभएको वा मौज्दात पर्याप्त नभएका चेक पेस हुन आएमा बैंक वा वित्तीय संस्था वा सहकारी बैंकले धारकलाई फिर्ता गर्नुपर्नेछ । खातामा रकम मौज्दात नभएको वा मौज्दात पर्याप्त नभएको कारणले धारकले चेक अनादर भएको प्रमाणित गराउन चाहेमा देहायबमोजिमको प्रक्रिया पूरा गरी चेक जारी गर्ने बैंक वा वित्तीय संस्था वा सहकारी बैंकले चेक अनादर भएको प्रमाणित गरिदिनुपर्नेछ ।
यसअन्तर्गत बैंक वा वित्तीय संस्थाले भुक्तानीका लागि आफू समक्ष पेश हुन आएको चेकको भुक्तानी गर्न आवश्यक मौज्दात खातामा नभएमा उक्त विषय उल्लेख गरी त्यस्तो चेक धारकलाई नै फिर्ता दिनुपर्नेछ । उदाहरणका लागि कुनै ‘क’ बैंकले जारी गरेको चेक भुक्तानीका लागि धारकले ‘ख’ बैंकमा पेश गरेमा समेत सम्बन्धित खातामा मौज्दात नभई वा मौज्दात अपर्याप्त भई ‘ख’ बैंकले चेक फिर्ता गर्दा मौज्दात नभएको वा मौज्दात पर्याप्त नभएको विषय उल्लेख गरी उक्त चेकधारकलाई फिर्ता गर्नुपर्नेछ । उक्त चेक धारकले अनादर भएको प्रमाणित गराउन चाहेमा बैंक वा वित्तीय संस्था (माथिको उदाहरणमा ‘क’ बैंक)ले आफू समक्ष धारकले चेकसहित निवेदन पेश गरेको मितिले बढीमा ४५ दिनको म्याद दिई आवश्यक रकम जम्मा गर्न बैंक वा वित्तीय संस्था (माथिको उदाहरणमा ‘क’ बैंक) ले सम्बन्धित खातावालालाई जुनसुकै माध्यमबाट सूचना दिई सोको अभिलेख राख्नुपर्नेछ । यसरी खातावालालाई दिएको सूचनाको अभिलेख राखिसकेपछि सो व्यहोरा संक्षिप्तरूपमा चेकमा समेत जनाई त्यस्तो चेक धारकलाई फिर्ता गर्नुपर्नेछ ।
परिपत्रअनुसार यसरी तोकिएको समयसम्ममा पनि चेकमा उल्लेख गरिएबमोजिमको रकम भुक्तानी माग्दा खातामा आवश्यक मौज्दात रकम नरहेको कारणबाट भुक्तानी दिन नसकिने भएमा बैंक वा वित्तीय संस्था (माथिको उदाहरणमा ‘क’ बैंक) ले तीन दिनभित्र उक्त चेक अनादर भएको प्रमाणित गरी धारकलाई नै फिर्ता गर्नुपर्नेछ । चेक धारकले अनादर भएको प्रमाणित गराउन चाहेमा उक्त चेक जारी गर्ने बैंक वा वित्तीय संस्था (माथिको उदाहरणमा ‘क’ बैंक) को जुनसुकै शाखा/कार्यालयमा निवेदन दिन सक्नेछ । परिपत्रअनुसार सहकारी बैंकले जारी गरेको चेकको हकमा समेत चेक अनादर गरेको व्यहोरा बुँदा नं. ४ को व्यवस्थाबमोजिम नै गर्नुपर्नेछ ।
चेक अनादर भएको प्रमाणीकरण क) बुँदा नं. (४) बमोजिम चेक अनादर भएको व्यहोरा प्रमाणितका लागि धारकले चेक जारी गर्ने बैंक वा वित्तीय संस्था (माथिको उदाहरणमा ‘क’ बैंक) वा सहकारी बैंक समक्ष उक्त चेकको सक्कल प्रतिसहित निवेदन पेश गर्नुपर्नेछ । ख) खण्ड (क) बमोजिम बैंक वा वित्तीय संस्था (माथिको उदाहरणमा ‘क’ बैंक) वा सहकारी बैंकले चेक नम्बर, चेक धारकको नाम, चेक जारी गर्ने खातावाला व्यक्ति वा संस्थाको नाम, भुक्तानी हुने रकम र चेक जारी भएको मिति समेत उल्लेख गरी चेक अनादर प्रमाणित गरिएको पत्र समेत सम्बन्धित धारकलाई उपलब्ध गराउनु पर्नेछ ।
परिपत्रअनुसार चेक अनादर भएको व्यहोरा प्रमाणित गर्ने कार्यका लागि बैंक वा वित्तीय संस्था वा सहकारी बैंकले धारकसँग कुनै किसिमको शुल्क लिन पाइने छैन । अनादर प्रमाणित भएको चेकबाट कुनै पनि बैंक वा वित्तीय संस्था वा सहकारी बैंकले भुक्तानी दिन पाइने छैन । तर चेक जारी गर्ने पक्षले चेक धारकलाई अनादर प्रमाणित भएको चेकमा उल्लिखित रकम भुक्तानी गरी चेक फिर्ता लिन यस व्यवस्थाले बाधा पुगेको मानिने छैन । परिपत्रअनुसार चेकको भुक्तानीको म्याद भित्र पहिलोपटक पेश भएका तर मौज्दात नभएको वा मौज्दात पर्याप्त नभई चेक फिर्ता भएमा समेत बुँदा ४ र ५ बमोजिम प्रक्रिया परा गरी उक्त चेक जारी गर्ने बैंक वा वित्तीय संस्था (माथिको उदाहरणमा ‘क’ बैंक) वा सहकारी बैंकले चेक अनादर भएको प्रमाणित गर्नुपर्नेछ ।
बैंक वा वित्तीय संस्था वा सहकारी बैंकले आफूसमक्ष धारकले पेश गरेको चेक धारकले यकिन गर्न सक्ने अवस्थाबाहेकका कारणले फिर्ता हुने अवस्थामा समेत सम्बन्धित खातामा रकम मौज्दात नभएको वा मौज्दात भए पनि भुक्तानीका लागि पर्याप्त नभएको अवस्था यकिन गर्नुपर्नेछ । यसरी अन्य कारणले चेक फिर्ता हुने अवस्थामा समेत खातामा रकम मौज्दात नभएको वा मौज्दात भए पनि भुक्तानीका लागि पर्याप्त नभएको खण्डमा यसै कार्यविधिबमोजिम चेक अनादर भएको व्यहोरा प्रमाणित गरिदिनु पर्नेछ ।