काठमाडौं । मानव एक सामाजिक प्राणी हो । मानिसलाई बाँच्नका लागि आवश्यक पूर्वाधारहरूमा गाँस, बास र कपास अत्यन्तै महत्वपूर्ण कुरा हुन् । यसबाहेक स्वास्थ्य, शिक्षा, एउटा सीप वा नियमित रोजगारीको पनि आवश्यकता पर्दछ । यी सबै आवश्यकताहरू पूरा भएपछि मानिसको मनोरञ्जन, सवारीसाधन, विलासिता, विभिन्न प्रकारका खानेकुरा र बाहिर घुम्ने चाहना क्रमशः बढ्दै जान्छ ।
त्यसैले, बाहिरी वातावरण भन्नाले हाम्रो वरिपरि रहेका सबै भौतिक, जैविक र सामाजिक पक्षहरूलाई जनाइन्छ, जसले हाम्रो प्रत्यक्ष जीवनशैलीलाई असर गर्छ र यसको प्रभाव हाम्रो शारीरिक तथा मानसिक अवस्थासम्म पर्छ । त्यसैले यसको संरक्षण र सुधार गर्नु नागरिक र सरकार सबैको साझा जिम्मेवारी हो ।
मानवको न्यूनतम आवश्यकता पूरा भएपछि अन्य धेरै कुरा आवश्यक भइरहन्छन् । त्यही आवश्यकताको कारण आज पहाडका मानिसहरू तराई झरेका छन् र एक ठाउँबाट अर्को ठाउँमा बसाइँ सर्दै देश र समाज नै परिवर्तन गरिरहेका छन् । अन्य विलासिताको चाहनाभन्दा पनि मानिसलाई सबैभन्दा राम्रो चाहिएको कुरामध्ये बाहिरी वातावरण एक हो ।
आन्तरिक वातावरण त छँदैछ, तर घरबाहिरको वातावरणमा प्राकृतिक तथा कृत्रिम दुवै प्रकारका तत्वहरू पर्दछन् । संसारका धेरै ठाउँहरूमा घुम्दा जुन ठाउँमा पुगिन्छ त्यहाँको जनताले चाहिने न्यूनतम पूर्वाधारहरू जस्तैः हिँड्ने ट्रेल, दौडने मैदान, खेलकुदस्थल, व्यायाम गर्ने स्थान, बच्चाहरूका लागि रमाउने र खेल्ने ठाउँहरू उपलब्ध भएको देखिन्छ ।
तर नेपालमा गाउँ होस् वा सहर यस्तो विकास खासै भएको देखिँदैन । जनताहरू खुसी हुनका लागि न्यूनतम आवश्यकता पूरा हुनुका साथै यस्ता कुराहरूको व्यवस्थापन भएमा समाज राम्रो बन्छ र समाज राम्रो भएमा दैनिकरूपमा स्वच्छ वातावरणमा हिँड्न पाइने, स्वस्थ जीवन बिताउन सकिने, मानसिक तथा शारीरिक स्फूर्तता कायम रहने र निरोगी जीवनयापन गर्न सकिन्छ ।
जहाँ मानिसहरूले दैनिकरूपमा शारीरिक र मानसिकरूपमा बलियो बन्ने अवसर पाउँछन्, त्यहाँ उनीहरूको जीवनशैली मात्र होइन, कार्यक्षमतामा पनि उल्लेखनीय सुधार देखिन्छ । स्वस्थ शरीर र शान्त मानसिकता कुनै पनि व्यक्तिको उत्पादकता, निर्णय क्षमता, सृजनशीलता र सामाजिक व्यवहारको स्तर निर्धारण गर्ने आधार हो । स्वच्छ हावा, शुद्ध पानी, हरियाली, खुला ठाउँ, नियमित व्यायाम, पर्याप्त आराम र तनावमुक्त वातावरणजस्ता कुरा शारीरिक र मानसिक स्वास्थ्यमा प्रत्यक्षरूपमा सकारात्मक प्रभाव पार्छन् । जब नागरिकहरू स्वस्थ जीवनशैलीमा बाँच्न सक्षम हुन्छन्, तब उनीहरूको काम गर्ने ऊर्जा, लगनशीलता र समर्पण पनि बढ्छ । त्यसले व्यक्तिगत प्रगति मात्र होइन, सामूहिक विकास र संस्थागत सफलतालाई समेत टेवा पुर्याउँछ । यसर्थ राज्यले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेर योजनाहरू बनाउनु, पूर्वाधारहरू तयार गर्नु र शुद्ध वातावरणको प्रत्याभूति दिनु अनिवार्य हुन्छ । स्वस्थ नागरिक नै सक्षम राष्ट्रको आधारस्तम्भ हुन् । राज्यले जनतालाई सबै सुविधा दिन नसके पनि कम्तीमा न्यूनतम आवश्यकता भने दिनैपर्छ । जस्तैः स्वच्छ हावा, शुद्ध पानीको व्यवस्था, गुणस्तरीय माटो, उचित वातावरण बनाउन हरियाली वनजंगल, जनावरको उचित बासस्थान र मानव समुदायलाई समेट्ने नीति बनाइनुपर्छ, चाहे त्यो जुनसुकै जात, धर्म, लिङ्ग, वर्ग वा भू–स्तरको किन नहोस् ?
यस्तै गरी, नेपालमा अव्यवस्थित सहरीकरणले गर्दा नेपालका धेरै सुन्दर ठाउँहरू पनि क्रमशः अव्यवस्थित बन्दै गइरहेका छन् । खानेपानीको उचित व्यवस्थापन नहुँदा जनताले अत्यन्तै कष्टकर जीवन बिताउन बाध्य छन् ।
सहरमा व्यवस्थापन गर्न नसकिने गरी सवारीसाधनको आयात, कति सवारीसाधनले वायु प्रदूषण बढाउनु, कलकारखानाहरूको उचित व्यवस्थापन नहुनु आदि कारणले बाहिरी वातावरण अत्यधिक अस्तव्यस्त बनेको छ ।
नदी प्रदूषण, जल प्रदूषण, हावा प्रदूषण र मानिस–मानिसबीचको अन्तरकलहले गर्दा समाज नै प्रदूषित बन्दै गएको छ । सहरीकरण गर्दा पहिले बाटो, घाँटो, पुल, खानेपानी, पार्क, बजार व्यवस्थापन, स्कुल, कलेज, अस्पतालजस्ता न्यूनतम मापदण्ड बनाएर सहरी विस्तार गरिएको भए सायद आज यस्तो अवस्था आउने थिएन ।
तर, जथाभावी फालेका फोहोरको ढिस्को, प्लास्टिकजन्य वस्तुहरू, सडकमै बजाइएका सवारीसाधनका हर्नहरू र सडकको धुलो आदिले गर्दा बाहिरी वातावरण अत्यन्तै खराब भएको छ ।
त्यसैले राज्यको नियम कडा हुनुपर्छ, यस्ता सबै पक्षहरूमा कडाइका साथ कानुन लागू गरिनुपर्छ र सबै नागरिक कानुनको दृष्टिमा समान हुनुपर्छ । कुनै पनि व्यक्तिलाई समान कानुन लागू हुनुपर्छ, भेदभावपूर्णरूपमा कारबाही गर्नु हुँदैन । तर, बाहिरी वातावरणलाई सही अवस्थामा राख्नका लागि पहिले जनचेतना दिनु आवश्यक छ । यसको लागि पर्यावरणीय शिक्षा पनि अत्यावश्यक हुन्छ ।
नागरिकहरूले आफैँले आफ्नो समाज कसरी बनाउने भन्नेमा सक्रिय भूमिका लिनुपर्छ । तर केन्द्रीय तहबाट नै समाजलाई सम्पन्न बनाउने एउटा बलियो आधार खडा गरिनु आवश्यक छ । सरकार पनि सचेत, जिम्मेवार र समाज परिवर्तन गर्ने नीतिमा पछि पर्नु हुँदैन ।
संसारका धेरै ठाउँमा हाम्रो समाजभन्दा भिन्नता देखिन्छ । तर हाम्रो समाजमा पारिवारिक मेलमिलाप राम्रो छ । ठूलालाई आदर सम्मान गर्ने चलन छ । त्यसैले, हाम्रो बाहिरी वातावरणमा ज्येष्ठ नागरिकलाई बस्ने विश्रामस्थल, भजनकीर्तन गर्ने स्थान, दुःख बिसाउने चौतारी बनाउनुका साथै समाजमा सहयोगी भावना, सेवा गर्ने प्रवृत्ति र मानवता सिकाउनु आवश्यक छ ।
समाजका कसैलाई पनि दुःख पर्दा साथ दिने भावना निर्माण गर्ने, अप्ठ्यारोमा सहयोग गर्ने संस्कारको निर्माण भएमा समाज राम्रो बन्छ । समाजमा बस्ने हरेक नागरिकले नैतिकता, इमानदारी, आदर, सहयोगी भावना, श्रमको सम्मान, समयको मूल्य, सामाजिक मूल्य र मान्यता भएको जिम्मेवार नागरिक बन्नुपर्छ । अरूलाई देख्दा मुस्कानसाथ हाँस्ने, नमस्कार गर्नेजस्ता क्रियाकलापहरूले पनि समाज परिवर्तन भएको देखिन्छ ।
संसारका धेरै ठाउँहरूको भ्रमण गर्दा, युरोप, अमेरिका, जापान, अष्ट्रेलियाजस्ता देशमा आफ्नो समाजमा कोही भेट्दा हाँसो, हात उठाउने वा अभिवादन गर्ने परम्परा देखिन्छ । तर नेपालमा आज शिक्षित व्यक्तिको संख्या बढ्दो क्रममा हुँदा पनि मानिसको स्वभावमा खासै परिवर्तन नदेखिनु शिक्षा प्रणाली नै संस्कारहीन त होइन ? भन्ने महसुस हुन थालेको छ ।
संसारका विभिन्न भू–भागहरू फरक–फरक छन् । कहीँ हिमाली क्षेत्र, कहीँ पहाडी, कहीँ समुद्री किनारा, कहीँ समथर जमिन, कहीँ अति गर्मी, त कहीँ अति जाडो । तर सबै ठाउँमा विशेषगरी विकसित राष्ट्रमा आफ्नै भूगोललाई प्रचार गरेर त्यहाँका नागरिकलाई खुसी बनाउने व्यवस्था छ । जसका कारण ती नागरिकहरू आफ्नो माटोप्रति गर्व गर्छन् ।
हाम्रो देशमा त झन् यति धेरै प्राकृतिक सम्पदा छन्, यसलाई जगेर्ना गर्नु हाम्रो कर्तव्य हो । यदि हामीले आफ्ना नागरिकलाई न्यूनतम सुविधा दिन सक्यौँ, बसोबासका उपयुक्त स्थानहरूको पहिचान गरी विकास गर्न सक्यौँ, आफ्नै देशभित्रै रमाउन सक्ने वातावरण सिर्जना गर्न सक्यौँ भने विदेशतिर भौतिक सुख खोज्नु पर्दैन । किनभने वास्तविक सुख भनेको राम्रो वातावरणमा बसेर राम्रो शिक्षा प्राप्त गरेर, आफ्नै ठाउँमा केही योगदान दिँदै स्वच्छ र स्वस्थ जीवनयापन गर्नु हो । यदि मानिसले आफ्नै देशमा सम्मान, अवसर र सुन्दर वातावरण पाउँछ भने ऊ विदेशको आकर्षणभन्दा आफ्नै माटोमा रमाउँछ । त्यसका लागि हामीले वातावरणमैत्री, समावेशी र मानव–केन्द्रित विकासको सोच राख्न आवश्यक छ ।
अब कुरा गरौँ काठमाडौं उपत्यकासहित देशका ठूला सहरहरूको बाहिरी वातावरणलाई कसरी सुधार गर्ने भन्ने विषयमा । नेपालका सहरहरू अत्यन्तै अव्यवस्थित छन् । सवारीको चाप अत्यधिक छ, गाडी अव्यवस्थित छन्, बाटाघाटा पनि जथाभावी छन्, जसले गर्दा मानिसहरू तनाबमा बाँचिरहेका छन् ।
तर, हरेक सहरको नजिक रहेका पहाड वा खुला स्थानहरू हाम्रो लागि सम्पत्ति हुन् । ती ठाउँको पहिचान गरेर खुला पार्क, खेलमैदान, घुम्न मिल्ने स्थानहरू, सरसफाइ, खानेपानी, सार्वजनिक शौचालय, पोखरी, साइकल लेन, रूखरोपण, आदिको व्यवस्था गर्न सकियो भने सहरी जीवन बिताउनेहरूमाझ राहतको सास फेर्न मिल्ने थियो ।
काठमाडौंको हावाको गुणस्तर केही वर्षयता अत्यन्तै खराब भएको छ भन्ने खबरहरू सुनिन थालेका छन् । आकाशमा बाक्लो तुवालो, धुलो, धुँवा र अन्य प्रदूषक तत्वहरूको वृद्धि खतराको घण्टी हो ।
अव्यवस्थित ट्राफिक, अनावश्यक हर्न, पुराना सवारीसाधन, इँटा भट्टा, उद्योग कलकारखाना आदिका कारण वातावरणीय संकट आएको हो । यसको समाधानका लागि सहरका खाली जमिनहरूको पहिचान गरेर सार्वजनिक पार्क, खेलमैदान, फूलबारी, बगैँचा, हरित क्षेत्र बनाउनु जरुरी छ ।
घर–घरमा फूलबारी बनाउने, रूख रोप्ने, छतमा बगैँचा बनाउने अभ्यासलाई अनिवार्यरूपमा प्रोत्साहित गर्नुपर्छ । यदि कसैले गरेन भने कर तिर्दा बढी कर तिर्नुपर्ने व्यवस्था वा जरिबाना लाग्ने व्यवस्था गर्नुपर्छ ।
त्यसैगरी, ट्रलीबस पुनः सञ्चालन, सार्वजनिक बसको सुधार, हर्न बजाउन पूर्णरूपमा प्रतिबन्ध, उचित पार्किङको व्यवस्था, लेन अनुशासन, साइकलको प्राथमिकताजस्ता कदम चाल्न सकिन्छ ।
फोहोरको उचित व्यवस्थापन, खोलानाला सफा राख्ने, नदी किनारमा पैदलमार्ग बनाउने, रूखरोपण गर्ने, विद्यालय शिक्षामै देश चिनाउने, देशमा रमाउने, सेवा गर्ने संस्कार सिकाउने उपाय अपनाउनु पर्छ । यदि सहरी क्षेत्र ‘स्मार्ट’ बनाइयो भने स्वस्थ नागरिकको निर्माण हुनेछ, जसले देशको पहिचानलाई अन्तर्राष्ट्रियरूपमा गौरवमय बनाउन सक्छ ।
नेपाल मन्दिरहरूको देश हो । पशुपतिनाथ, बौद्धनाथ, स्वयम्भू, लुम्बिनीजस्ता पवित्र स्थलहरूको वातावरण यस्तो धुमिल रहनु हुँदैन ।
pageपशुपतिनाथको कैलाश साँच्चै कैलाशजस्तो होस् । बागमतीमा नाली होइन, पवित्र जल बगोस् । सडकमा शान्तरूपमा सवारी गुडोस् । तनाबरहित जीवन जिउन सबैलाई मिलोस् ।
सबैको मुहारमा सधैँ खुसी झल्कियोस् । पहाडमा हरियाली फैलिएको देखियोस् र खेतीयोग्य जमिनहरूमा प्रशस्त अन्न उत्पादन होस् । उद्योगधन्दाहरू देशभर फैलिऊन्, जसले रोजगारी सिर्जना गरोस् र आर्थिक समृद्धिमा टेवा पुगोस् । जनजीवनमा सधैँ उत्साह र सन्तोषको अनुभूति होस् । यसका लागि बाहिरी वातावरण स्वच्छ, हरित र व्यवस्थित हुनु अत्यन्तै आवश्यक छ । जब वातावरण राम्रो हुन्छ, तब मानिसको स्वास्थ्य पनि राम्रो रहन्छ र उनीहरूको कार्यसम्पादनमा समेत सकारात्मक वृद्धि हुन्छ । नेपाली जनताले जहाँ बसेका छन्, ती सबै स्थानहरू सुन्दर, सफा र स्वास्थ्यप्रद बनून् । यही नै समृद्ध, सभ्य र खुसी नेपालको आधार हो । जय देश !