काठमाडौं । बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका–१५ खुमलटार बस्ने ४९ वर्षीय अमित लाल जोशी र काठमाडौं चन्द्रागिरी नगरपालिका–१३ बस्ने धादिङ धुनीबेँसी नगरपालिका–२ घर भएका ४६ वर्षीय मधुकर लुइँटेल रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं जिल्ला अदालतबाट उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका अमितलाई काठमाडौं महानगरपालिका–२६ कपुरधाराबाट सोमबार पक्राउ गरेको हो । साथै सोही मुद्दामा फरार रहेका मधुकरलाई काठमाडौं महानगरपालिका–२७ बाट आइतबार प्रहरीले पक्राउ गरेको हो ।
पक्राउमध्ये अमितलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि प्रहरी वृत्त जनसेवा र मधुकरलाई प्रहरी वृत्त गौशाला पठाइएको जानकारी प्रहरीले दिएको छ ।