काठमाडौं,नेपाली कम्युनिष्ट आन्दोलनमा फेरि एकपटक एकताको संकेत देखिएको छ। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमबीच पार्टी एकता गर्ने औपचारिक सहमति भएको छ। राजनीतिक दर्शन, कार्यक्रम, रणनीति र कार्यशैलीमा समानता रहेको भन्दै दुवै नेताले एउटै ढाँचामा अगाडि बढ्ने निर्णय गरेका हुन्। सहमतिअनुसार आगामी साउन २ गते राष्ट्रिय सभागृहमा एकताको औपचारिक घोषणा गरिनेछ। दुवै नेताको हस्ताक्षरसहित जारी सहमतिपत्रमा वर्तमान परिस्थितिमा वाम एकता अपरिहार्य भएको उल्लेख गरिएको छ। यो सहमति लामो समयदेखि छुट्टाछुट्टै यात्रा गर्दै आएका दुई नेताबीचको पुनर्मिलनका रूपमा हेरिएको छ।