काठमाडौं , नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको नयाँ मौद्रिक नीतिमा सेयर धितो कर्जाको सीमा बढाएको छ। हालसम्म एक व्यक्तिले अधिकतम १५ करोड रुपैयाँसम्म मात्र सेयर धितो कर्जा लिन सक्ने व्यवस्था थियो। तर, गभर्नर डा. विश्वनाथ पौडेलले सोमबार सार्वजनिक गरेको मौद्रिक नीतिमार्फत उक्त सीमा बढाएर २५ करोड रुपैयाँ पुर्‍याएका छन्। नयाँ व्यवस्थाअनुसार अब व्यक्तिगततर्फ पनि एक व्यक्तिले २५ करोडसम्मको सेयर धितो कर्जा लिन सक्नेछ। राष्ट्र बैंकको यो निर्णयले पूँजी बजारमा तरलता वृद्धि र लगानीकर्ताको पहुँच विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।