काठमाडौं , नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ। राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले शुक्रबार सार्वजनिक गरेको नीतिमा पूँजी बजार, बैंकिङ प्रणाली, मुद्रास्फीति नियन्त्रण, कर्जाको पहुँच र आर्थिक स्थायित्वलाई प्राथमिकता दिइएको छ।
सेयर धितो कर्जा सीमा बढ्यो
मौद्रिक नीतिअनुसार व्यक्तिगत लगानीकर्ताले लिन सक्ने सेयर धितो कर्जाको सीमा १५ करोडबाट बढाएर २५ करोड रुपैयाँ पुर्याइएको छ। यसले पूँजी बजारमा तरलता थपिने अपेक्षा गरिएको छ।
ब्याजदर स्वतः चलायमान प्रणालीमा
अबदेखि ब्याजदर स्वतः चलायमान प्रणाली (Interest Rate Corridor) अनुसार चल्नेछ। कर्जाको ब्याजदर घटाउन ‘Policy Rate’ मा समायोजन हुने प्रावधान गरिएको छ।
मुद्रास्फीतिलाई ५.५% भित्र सीमित गर्ने लक्ष्य
राष्ट्र बैंकले मुद्रास्फीतिलाई अधिकतम ५.५ प्रतिशतभित्र सीमित राख्ने लक्ष्य लिएको छ।
कृषि, उत्पादन र निर्यातमा जोड
निर्माण, कृषि, ऊर्जालगायत उत्पादनमुखी क्षेत्रमा कर्जा प्रवाह बढाउने नीति लिइएको छ। हरित वित्त (Green Finance) र निर्यातमुखी उद्योगलाई प्राथमिकता दिइनेछ।
साना व्यवसाय र महिला उद्यममा विशेष जोड
साना व्यवसायी, महिला उद्यमी र दूरदराजका क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्न कर्जा प्रवाह सरल बनाउने नीति लिइएको छ। सहुलियतपूर्ण कर्जा योजनाहरूलाई निरन्तरता दिइनेछ।
डिजिटल बैंकिङ र साइबर सुरक्षामा विशेष योजना
डिजिटल फाइनान्स इनोभेसन हब स्थापना गर्ने, डिजिटल कारोबारमा साइबर सुरक्षालाई मजबुत बनाउने र ई-भुक्तानी प्रणालीलाई थप विस्तार गर्ने उल्लेख छ।
रूपैयाँ सुदृढीकरण र विदेशी मुद्रा सञ्चिति स्थिरता
विदेशी मुद्राको सञ्चिति सुदृढ पार्ने, सस्तो आयात घटाउने र रूपैयाँको स्थायित्व कायम राख्ने उपायहरू अवलम्बन गरिनेछ।
राष्ट्र बैंकको मौद्रिक (पूर्णपाठ) पूर्ण मौद्रिक नीति पढ्न यहाँ क्लिक गर्नुहोस्
https://ap-south-1.linodeobjects.com/aarthikdainik/2025/07/9TGqUKCF-Monetary_Policy_2082-083_compressed-1-1752221372.pdf