सियोल । दक्षिण कोरियाको एक अदालतले पूर्वराष्ट्रपति युन सुक योलको नयाँ गिरफ्तारीलाई अनुमोदन गरेको छ । डिसेम्बरमा युनले ‘मार्सल ल’ (सैनिक शासन) लागू गर्न खोजेको घटनासँग सम्बन्धित मुद्दामा प्रमाण नष्ट गर्ने जोखिम रहेको भन्दै विशेष अभियोजकको आग्रहमा अदालतले यो निर्णय गरेको हो ।
सियोल केन्द्रीय जिल्ला अदालतले बिहीबार बिहान जारी गरेको गिरफ्तारी वारेन्टअनुसार मार्चमा रिहा भएका युनलाई पुनः हिरासत केन्द्रमा पठाइएको छ । जनवरीमा अदालतले उनको प्रारम्भिक गिरफ्तारी खारेज गरेको थियो । अब भने उनलाई थप अनुसन्धानका लागि २० दिनसम्म हिरासतमा राख्न सकिनेछ ।
विशेष अभियोजक चो युन–सुकको टोलीले युनमाथि विद्रोहको प्रयास, शक्तिको दुरुपयोग, आधिकारिक कागजातमा जालसाजी र कानुनी प्रक्रिया अवज्ञा गरी सैनिक शक्ति प्रयोग गरेको आरोप लगाएको छ । यदि दोषी ठहर भएमा युनलाई आजीवन कारावास वा मृत्युदण्डको सजाय हुन सक्छ ।
युनले संसद्मा आफ्नो एजेन्डामा अवरोध पु¥याउने उदारवादी विरोधीहरूलाई नियन्त्रण गर्न ‘मार्सल ल’ लागू गर्नुपरेको दाबी गरेका थिए । तर नेसनल एसेम्बलीले यस कदमलाई खारेज गर्दै उनलाई महाभियोग लगाएको थियो । त्यसपछि उनी जनवरीमा पक्राउ परे पनि केही समयमै रिहा भएका थिए ।
हाल युन अदालतको निर्णयअनुसार हिरासतमा रहेका छन् र उनलाई थप सोधपुछका लागि शुक्रबार पनि बोलाइएको छ । वर्तमान राष्ट्रपति ली जे म्यङले युन र उनको प्रशासनमाथि विशेष अनुसन्धान अघि बढाएका छन् ।