काठमाडौं , राष्ट्रिय सूचना प्रविधि केन्द्रमा उपकरण खरिदका नाममा करिब १६ करोड रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन कार्यकारी निर्देशक सुनील पौडेलसहित ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
२०७६ सालमा "हाई कम्प्युट इन्फास्ट्रक्चर" खरिद गर्दा गुरुयोजनाविनै महंगो र गुणस्तरहीन उपकरण ल्याएको अभियोगमा १५ करोड ८८ लाख रुपैयाँ बिगो कायम गरिएको हो। वर्ल्ड डिस्ट्रिब्युसन नेपाल प्रालिमार्फत गरिएको ३० करोडको ठेक्कामा मिलेमतो भएको आयोगको निष्कर्ष छ।
मुद्दामा पौडेलसहित केन्द्रका तत्कालीन निर्देशक, सहायक निर्देशक, कम्प्युटर इञ्जिनियर, लेखा अधिकृत र ठेकेदार कम्पनीका प्रमुख अरुण श्रेष्ठलाई प्रतिवादी बनाइएको छ। पौडेल हाल डिल्लीबजार कारागारमा छन्। अख्तियारका अनुसार उनीमाथि यसअघि पनि नेपाल टेलिकमसम्बन्धी घोटालालगायत आधा दर्जन मुद्दा दायर भइसकेका छन्।