काठमाडौं, जनमत पार्टीका निलम्बित पूर्वकोषाध्यक्ष सुरेन्द्रनारायण यादवमाथि अर्को ठगीको मुद्दा दर्ता भएको छ। यसअघि पार्टीको नाममा भवन खरिदका लागि संकलित रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका यादवमाथि पुनः एक व्यक्तिले ललितपुर जिल्ला अदालतमा ठगीको जाहेरी दिएका हुन्। अदालतले असार २६ गते यादवविरुद्ध एक लाख २५ हजार रुपैयाँ धरौटी माग गरेको थियो, जुन बुझाएर उनी त्यही दिन छुटेका हुन्।यसअघि सप्तरी प्रहरीले उनलाई ७ वैशाखमा पक्राउ गरेको थियो। पार्टी प्रवक्ता डा. शरदसिंह यादवको जाहेरीका आधारमा सुरेन्द्र यादव र उनकी श्रीमती ललिता यादवविरुद्ध १ करोड ८५ लाख रुपैयाँ बिगो असुल मागसहित मुद्दा दायर भएको थियो। पुनः ठगी प्रकरण सार्वजनिक भएसँगै पार्टीभित्रको आन्तरिक विवाद फेरि चुलिएको देखिन्छ।