काठमाडौं, अखिल नेपाल फुटबल संघ (ANFA) को अध्यक्ष पङ्कज नेम्वाङको नेतृत्वमा रहेको कार्यसमितिले विश्व फुटबल महासंघ (फिफा) को नियन्त्रणमा रहेको केन्द्रीय फन्डिङ सिस्टमबाट नेपाललाई पूर्ण रूपमा मुक्त गराएको छ।
फिफाको Governance, Audit and Compliance Committee (GACC) ले १० जुलाई २०२५ मा उक्त फन्डिङ सिस्टम हटाउने निर्णय गरेसँगै नेपालले अब फिफाबाट स्वतन्त्र रूपमा परियोजना, बजेट तथा सहयोग प्राप्त गर्न सक्नेछ।
आर्थिक पारदर्शिता, सुशासन र उत्तरदायित्वपूर्ण व्यवस्थापनको उच्च मूल्यांकनस्वरूप एन्फालाई हालै मात्र AFC Member Association of The Year (Gold) Award 2024 बाट पनि सम्मानित गरिएको थियो।
अध्यक्ष नेम्वाङको नेतृत्वमा विगतको अव्यवस्थित अवस्थाबाट सुधार गर्दै संघमा गरिएका परिवर्तनहरूलाई फिफा र एएफसीले समेत सकारात्मक मूल्यांकन गरेको प्रेस नोटमा उल्लेख छ। नेम्वाङले कार्यकालभर नेपाली फुटबलको समग्र सुधार, आधारभूत संरचना निर्माण, युवा विकास तथा महिला फुटबलको प्रवर्द्धनमा उल्लेखनीय प्रगति गर्दै आएका छन्।
