काठमाडौँ, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाली युवालाई विदेशिने सोच त्यागी देशमै अवसर खोज्न आग्रह गरेका छन्। राष्ट्रिय युवा महोत्सवमा आज सम्बोधन गर्दै उनले नेपालमा अन्य देशमा भन्दा बढी सम्भावना रहेको दाबी गरे।
“नेपालमा व्यावसायिक सम्भावना अपार छन्। म पनि जापानमा काम गरिसकेको व्यक्ति हुँ। तर अहिलेको अनुभवमा भन्छु, नेपालमा हरेक क्षेत्रमा सफलताको ढोका खुलेको छ,” अध्यक्ष ढकालले भने।
उनका अनुसार सरकारले सुरु गर्न खोजेका योजनाहरुलाई समाजको आवश्यकतासँग मिलाएर अघि बढाउन सके चाँडै सफलता हात पार्न सकिन्छ। “सानैमा अभिभावक गुमाएँ। व्यवसायमा केही गरौँ भन्ने सोच सँगै अघि बढेँ। इमान्दारीपूर्वक काम गर्ने हो भने सफलता टाढा हुँदैन,” उनले जीवन अनुभव बाँडे।
अध्यक्ष ढकालले नेपालमै गुणस्तरीय कलेज तथा विश्वविद्यालय रहेको भन्दै विदेश गएर पढ्नुपर्ने बाध्यता नरहेको उल्लेख गरे। “मैले विश्वका धेरै देश भ्रमण गरेको छु, तर नेपालजस्तो सम्भावनायुक्त राष्ट्र पाएको छैन,” उनले दाबी गरे।
यस महोत्सवको आयोजना एमआईटी, सुनौलो नेपाल, परिवर्तनका लागि युवा (Youth for Change), वाइइडी टक्स र इन डेप्थ स्टोरी (IDS) को सहकार्यमा गरिएको हो। कक्षा १२ सकाएका विद्यार्थी लक्षित यस कार्यक्रममा नेतृत्व विकास, सकारात्मक मानसिकता निर्माण तथा उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्य राखिएको थियो।