बुटवल, व्यापक विरोध र असन्तुष्टिका बाबजुद नेपाल ग्रामीण विकास लघुवित्तले समाज लघुवित्तसँगको मर्जर प्रस्ताव शनिबार सम्पन्न साधारणसभाबाट पारित गरेको छ।सभामा अधिकांश महिला सेयरधनीलाई जानकारी नदिई, प्रहरी सुरक्षा बीच सीमित व्यक्तिहरूको सहभागितामा प्रस्ताव अनुमोदन गरिएको असन्तुष्ट पक्षको गुनासो छ। कर्मचारी संगठनले मर्जर प्रक्रिया "स्वार्थपूर्तिको खेल" भन्दै काला ब्यानरसहित विरोध प्रदर्शनसमेत गरेको थियो।साधारण सभामा जान खोजेका कर्मचारी सेयरधनी र पत्रकारलाई पनि प्रवेशमा रोक लगाइएको थियो। संस्था प्रमुख श्याम कुमार कटुवालमाथि कार्यकारी प्रमुख र कम्पनी सचिव दुवै पद सम्हालेको तथा आफ्नो कार्यकाल लम्ब्याउन मर्जर अघि बढाएको आरोप लागेको छ। वित्तीय हैसियतमा कमजोर समाज लघुवित्तसँगको मर्जरले सेयरधनीको हितमा नहुने भन्दै कर्मचारी संगठनले नेपाल राष्ट्र बैंकको गम्भीर ध्यानाकर्षण गराएको छ।