कपिलवस्तु, पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुद्धभूमि नगरपालिका–९ स्थित चन्द्रौटा नजिक आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा २९ जना यात्रु घाइते भएका छन्।काठमाडौंबाट दाङतर्फ जाँदै गरेको लु.प्र. ०२–००१ ख ००४५ नम्बरको बस बिहान ४ बजे दुर्घटनामा परेको हो। बसमा ३० जना यात्रु सवार थिए।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी डीएसपी मोहनमणि अधिकारीका अनुसार, घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर, २० जनाको अवस्था मध्यम र ६ जनाको अवस्था सामान्य रहेको छ।
घाइतेहरूलाई चन्द्रौटास्थित संजिवनी सामुदायिक अस्पतालमा प्राथमिक उपचार गरिएको छ भने ३ जना गम्भीर घाइतेसहित केहीलाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ। दुर्घटनापछि सडक एकतर्फी मात्र सञ्चालनमा आएको छ भने बस हटाउने कार्य जारी छ।