काठमाडौं । नबिल बैंक ४२औँ वर्षमा प्रवेश गरेको छ । सन् १९८४ मा स्थापना भएको बैंकले नेपालको वित्तीय क्षेत्रको आधुनिकीकरण, डिजिटल प्रविधिको उपयोग र मुलुकको आर्थिक वृद्धिमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ ।
बैंकले आफ्नो सेवा र उत्पादनलाई ग्राहक केन्द्रित बनाउँदै आज नेपालको पहिलो नम्बरको बैंकका रुपमा आफूलाई स्थापित गरेको छ । बैंकले वित्तीय सेवा मात्र नभर्ई समाज र वातावरणमै सकारात्मक प्रभाव पार्ने दिगो बैंकिङलाई पनि प्राथमिकता दिँदै आएको छ ।
४१औँ वार्षिकोत्सवका अवसरमा बोल्दै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवालीले नबिल बैंकले राष्ट्रको आर्थिक समृद्धिमा आफ्नो निरन्तर योगदानलाई गर्वका साथ स्मरण गर्दै आगामी दिनमा पनि उत्तरदायी, नवीन र दिगो बैंकिङ अभ्यासमार्फत अझ सशक्तरूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । साथै उनले सम्पूर्ण ग्राहक, कर्मचारी, नियामक, सरकारी निकाय, सेयरधनीलगायत सरोकारवालालाई यहाँसम्म आइपुग्नका लागि दिएको साथ र सहयोगका लागि आभार व्यक्त गरे ।
स्थापनादेखि नै कम्प्युटर प्रणालीमा आधारित सेवा प्रवाह गर्ने पहिलो संयुक्त लगानी बैंकको रूपमा परिचित नबिलले आजको डिजिटल युगसम्म आइपुग्दा प्रविधि प्रयोगमा अग्रणी स्थान बनाउन सफल भएको छ ।
बैंकले २०८२ असार २६ सम्म कुल चार खर्ब ३३ अर्ब रुपैयाँ बराबरको कर्जा व्यवस्थापन गरेको छ भने पाँच खर्ब ३५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गरेको छ । बैंकले कृषि क्षेत्रमा ४९ अर्ब ५० करोड रुपैयाँ, ऊर्जा क्षेत्रमा ४० अर्ब रुपैयाँ तीन हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादनमा सहयोगी हुँदै, सूक्ष्म, लघु, साना तथा मझौला उद्यममा ३८ अर्ब ५० करोड रुपैयाँ र व्याज अनुदानित योजनामार्फत सात अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सूचकाङ्कमा अब्बल
बैंकले हरेक प्रमुख सूचकहरूमा अत्यन्तै सकारात्मक प्रगति गरेको छ । पुँजी, निक्षेप संकलन, कर्जा प्रवाह, नाफा, सम्पत्तिदेखि शाखा विस्तारसम्म र मानव संशाधनमा बैंकले आफूलाई अब्बल बनाएको छ ।
आर्थिक वर्ष २०४१/४२ मा बैंकको नेटवर्थ दुई करोड ८० लाख रुपैयाँ रहेकामा आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्म आइपुग्दा ६१ अर्ब २४ करोड ७० लाख पुगेको छ भने निक्षेप संकलन १४ करोड ६० लाख रुपैयाँबाट बढेर आव २०८१/८२ मा आइपुग्दा पाँच खर्ब १० अर्ब ६६ करोड ९० लाख पुगेको छ ।
बैंकका अनुसार कर्जा प्रवाह आव २०४१/४२ मा १३ करोड ३० लाख रुपैयाँ रहेकामा आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्म आइपुग्दा यो बढेर चार खर्ब १५ अर्ब ८२ करोड ९० लाख पुगेको छ । बैंकको कुल सम्पत्ति पनि २६ करोड ९० लाख रुपैयाँबाट बढेर आव २०८१/८२ को तेस्रो त्रैमाससम्म ६ खर्ब ११ अर्ब ८६ करोड २० लाख पुगेको छ ।
प्रारम्भिक वर्षमा बैंकको कर पछिको नाफा १० लाख रुपैयाँ रहेकामा आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा पाँच अर्ब पाँच करोड रुपैयाँ पुगेको छ । त्यसैगरी सुरुवाती समयमा दुई वटा शाखा र एक सय ४४ जना कर्मचारीबाट सुरु भएको बैंकको यात्रा अहिले दुई सय ६८ शाखा र २४ सय ३१ कर्मचारी पुगेको छ ।
बैंकले देशभर दुई सय ६८ शाखा, तीन सय २१ एटिएम र २१ एक्सटेन्सन काउन्टरमार्फत करिब २५ लाख ग्राहकलाई सेवा प्रवाह गरिरहेको छ । बैंकले डिजिटल बैंकिङतर्फ मोबाइल बैंकिङ, एनबैंक, क्युआर भुक्तानी, अनलाइन कर्जा र अनलाइन खाता खोल्नेजस्ता सेवा सुरु गरिसकेको छ ।
वार्षिकोत्सवमा विशेष योजना
नबिल बैंकले वार्षिकोत्सवको अवसरमा ग्राहकहरूप्रतिको आभारस्वरूप ४१ दिने विशेष अफर ल्याएकोे छ । यहि असार २८ गतेदेखि भदौ ५ गतेसम्म नयाँ बचत खाता खोल्ने सबै ग्राहकलाई पहिलो वर्षको लागि डेबिट कार्ड निःशुल्क प्रदान गरिनेछ । यो अफर कुनै पनि बचत योजनाअन्तर्गत नयाँ खाता खोल्ने सबै ग्राहकका लागि लागू हुनेछ ।
यस्तै, नबिल बैंकले वार्षिकोत्सवको अवसरमा महिलालाई लक्षित गर्दै ‘स्मार्ट नारी घर कर्जा’ योजना सार्वजनिक गरेको छ । महिलाहरूलाई घरजग्गा स्वामित्वमा पहुँच बढाउन र उनीहरुलाई आर्थिकरुपमा आत्मनिर्भर बनाउनका लागि उक्त योजना ल्याइएको हो । यस योजनाअनुसार महिला आवेदकले घर खरिद, घर निर्माण, मर्मतसम्भार वा अन्य बैंक तथा वित्तीय संस्थाबाट लिएको आवास कर्जा सार्नका लागि सजिलो, सहज र आकर्षक सर्तमा कर्जा प्राप्त गर्न सक्ने बैंकको भनाइ छ ।