काठमाडौं । गुल्मीका दुई स्थानीय तह छत्रकोट गाउँपालिका र रुरुक्षेत्र गाउँपालिकाले चालू खर्चभन्दा पुँजीगत खर्च धेरै गरेका छन् । चालू आर्थिक वर्ष २०८१/८२ को वित्तीय प्रगति विवरणअनुसार छत्रकोट गाउँपालिकाले चालूभन्दा पुँजीगत क्षेत्रमा छ दशमलव ३३ प्रतिशत बढी वित्तीय प्रगति हासिल गरेको छ । यस्तै, रुरुक्षेत्र गाउँपालिकाले चालूभन्दा पुँजीगत खर्च छ प्रतिशतले बढी गरेको छ ।
छत्रकोट गाउँपालिकाका लेखा अधिकृत सन्तोष जिसीका अनुसार गाउँपालिकाले चालू आवमा कुल ५४ करोड ११ लाख ८७ हजार पाँच सय २७ रुपैयाँ बजेटमा पुँजीगततर्फ १८ करोड ८६ लाख ४७ हजार एक सय ५० रुपैयाँ छुट्याएको थियो । सोमध्ये १७ करोड ९४ लाख २८ हजार पाँच सय ७० रुपैयाँ अर्थात् ९५ दशमलव ११ प्रतिशत खर्च गर्न सफल भएको छ । गाउँपालिकाले आर्थिक वर्षको सुरुमै चालू खर्चलाई कम गर्दै पुँजीगत खर्च अधिक मात्रामा गर्ने रणनीति लिएअनुसार पुँजीगत खर्च धेरै गर्न सफल भएको पालिकाका लेखा अधिकृत जिसीले बताए । उनका अनुसार चालू खर्चतर्फ विनियोजित कूल बजेटको ८८ दशमलव ७८ प्रतिशत अर्थात् ३१ करोड २९ लाख ९२ हजार एक सय पाँच रुपैयाँ खर्च भएको छ । समग्रमा चालू आर्थिक वर्षमा चालू र पुँजीगत गरी कूल ४९ करोड २४ लाख २० हजार छ सय ७५ रुपैयाँ अर्थात् ९० दशमलव ९८ प्रतिशत वित्तीय प्रगति भएको उनले बताए ।
त्यस्तै, रुरुक्षेत्र गाउँपालिकाका लेखा शाखा प्रमुख हेम बहादुर कार्कीका अनुसार गाउँपालिकाले चालूतर्फ ८८ दशमलव ८८ प्रतिशत खर्च गरेको छ भने पुँजीगततर्फ ९४ दशमलव ९५ प्रतिशत खर्च गरेको छ । पालिकाले छ दशमलव शून्य सात प्रतिशत पुँजीगत क्षेत्रमा बढी खर्च गरेको छ । लेखा शाखा प्रमुख कार्कीले गाउँपालिकाले चालू आर्थिक वर्षमा कुल ५७ करोड ९१ लाख ३५ हजार चार सय ४४ रुपैयाँ विनियोजन गरेकोमा चालूतर्फ ३७ करोड ४६ लाख आठ हजार चार सय ५५ रुपैयाँ विनियोजन गरेको थियो । सोमध्ये ३३ करोड २९ लाख ४२ हजार नौ सय १३ रुपैयाँ खर्च गरेको छ भने पुँजीगततर्फको कूल २० करोड ४५ लाख २६ हजार नौ सय ८९ रुपैयाँमा १९ करोड ४२ लाख आठ हजार चार सय ६९ रुपैयाँ खर्च गरेको छ । समग्रमा पालिकाले ९१ दशमलव शून्य दुई प्रतिशत वित्तीय प्रगति गरेको लेखा अधिकृत कार्कीले जानकारी दिए ।