काठमाडौं । बुगल हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयरको बिक्री आह्वान गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका जनता र वैदेशिक रोजगारीका क्रममा रहेकाहरूको लागि साधारण सेयरको बिक्री खुला गर्न लागेको हो ।
कम्पनीले हाल कायम रहेको जारी पुँजी ८३ करोड रुपैयाँमध्येबाट ३५ प्रतिशतका दरले हुने एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको २९ करोड पाँच लाख रुपैयाँबराबरको २९ लाख पाँच हजार कित्ता सेयर सर्वसाधारणको लागि छुट्याएको छ । सोमध्ये पहिलो चरणमा जारी पुँजीको १० प्रतिशतका दरले हुन आउने आठ करोड ३० लाख रुपैयाँबराबरको आठ लाख ३० हजार कित्ता आयोजना प्रभावित क्षेत्रको जनताको लागि बिक्री गर्ने छ । त्यसपछि बाँकी रहेको २० करोड ७५ लाख रुपैयाँबराबरको २० लाख ७५ हजार कित्तामध्येबाट १० प्रतिशतका दरले हुन आउने एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको दुई करोड सात लाख ५० हजार रुपैयाँबराबरको दुई लाख सात हजार पाँच सय कित्ता सेयर वैदेशिक रोजगारमा रहेकाहरूको लागि बिक्री गर्न लागिएको हो ।
कम्पनीका अनुसार सेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको कम्पनीको साधारण सेयरमध्ये आयोजना प्रभावित क्षेत्रको लागि छुट्याइएको सेयरको बिक्री कार्य यही असार २९ गते अर्थात् आज आइतबारबाट सुरु भई छिटोमा साउन ११ गते र ढिलोमा साउन २६ गते बन्द हुनेछ । यसैगरी वैदेशिक रोजगारीमा रहेकाहरूको लागि बिक्री गरिने सेयर पनि यही असार २९ गते अर्थात् आज आइतबारबाट सुरु भई साउन ११ गतेसम्म कायम रहनेछ ।