काठमाडौं । ज्योति विकास बैंकले देशका ग्रामीण क्षेत्रहरूमा जीवनरक्षक चिकित्सा उपकरणहरूको महत्वलाई ध्यानमा राख्दै, काभ्रे जिल्लास्थित मंगलटार स्वास्थ्य चौकीमा नवजात शिशुको शारीरिक तापक्रमलाई सन्तुलनमा राख्न र हाइपोथर्मिया (अल्पताप)को जोखिमबाट जोगाउन आवश्यक बेबी वार्मर (न्यानो नानी) मेसिन प्रदान गरेको छ । सुरक्षित प्रसूति सेवाको पहुँच दुर्गम क्षेत्रमा पनि सुनिश्चित गर्न उद्देश्यले बैंकले आफ्ना शाखा नहुने स्थानहरूमा समेत यस्ता अत्यावश्यक स्वास्थ्य उपकरणहरू उपलब्ध गराउँदै आएको छ । यो प्रयास बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालित एउटा महत्वपूर्ण पहल हो ।
ज्योति विकास बैंकको पहलमा काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. ०९ स्थित मंगलटार स्वास्थ्य चौकीमा बेबी वार्मर जडान गरिएको छ । हस्तान्तरण कार्यक्रममा स्वास्थ्य चौकीका पदाधिकारीहरू तथा सम्बन्धित क्षेत्रका विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो । साथै, सोही अवसरमा अस्पतालका डाक्टर, नर्सलगायत सम्बन्धित कर्मचारीहरूलाई विज्ञमार्फत बेबी वार्मर सञ्चालनसम्बन्धी विशेष तालिम पनि प्रदान गरिएको थियो ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको ‘हाम्रो विकास प्रवद्र्धन कोष’मार्फत यो बेबी वार्मरसहित हालसम्म देशभर ६२ वटा बेबी वार्मर मेसिनहरू प्रदान गरिसकेको छ । यी उपकरणहरूमार्फत हरेक वर्ष करिब २३ सय नेपाली शिशुलाई यो सुविधा उपलब्ध गराई अमूल्य जीवन रक्षा गर्न सफल भएको छ । विशेषगरी ग्रामीण क्षेत्रमा हाइपोथर्मियाको दर उच्च रहेको र यसका कारण नवजात शिशुहरूको जीवन जोखिममा पर्ने गरेको दृष्टान्तलाई हृदयङ्गम गर्दै बैंकले उक्त मेसिन प्रदान गर्दै आएको छ । साथै हालसम्मको योगदानले करिब ११ हजार चार सय ७० भन्दा बढी शिशुहरू प्रत्यक्षरुपमा यस सेवाबाट लाभान्वित भएका छन् । यस्ता जीवन रक्षण गर्ने अत्युत्तम क्षेत्रमा नेपालमा रहेका बैंक तथा वित्तीय संस्थाहरूमध्ये बैंकले अग्रस्थानमा रही काम गर्दै समाजमा एक सकारात्मक परिवर्तनको बीजारोपण गरेको छ ।
आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक कार्यमा गर्ने योगदानभन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ । संस्थागत सुशासनलाई शिरोपर गरी ग्राहकवर्ग, कर्मचारी, नियामक निकाय, सेयरधनी र समग्र सरोकारवालाको हक हितमा योगदान पु¥याउन ज्योति विकास बैंक सदैव प्रतिबद्ध रहेको छ । यस विकास बैंकले राष्ट्रप्रति आफ्नो दायित्व पूर्ति गर्दै गएको आर्थिक वर्षमा करिब ४० करोड रुपैयाँले राजस्वमा योगदान पुर्याएको छ।