काठमाडौं । ‘सामान्य प्रशासनमन्त्री गुप्ताद्वारा लाखौँको घुस लेनदेन गरेको भन्दै अख्तियारमा उजुरी’ शीर्षकमा आर्थिक राष्ट्रिय दैनिकमा समाचार छापिएपछि सो विषय प्रतिनिधिसभाको बैठकमा उठेको छ । आइतबारको प्रतिनिधिसभाको बैठकमा सांसदहरूले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले घुस लेनदेन गरेको अडियो सार्वजनिक भएको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग गरेका छन् ।
प्रतिपक्षी दलहरू नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले मन्त्री गुप्ताको घुस प्रकरणलाई लिएर प्रधानमन्त्री ओलीको जवाफ मागेका हुन् । बैठकमा माओवादी सांसद दुर्गा राईले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको घुस डिल गरेको अडियो बाहिरिएको बारे प्रश्न गर्दै भनिन्, ‘सम्माननीय प्रधानमन्त्री केपी शर्माओलीज्यूले म घुस पनि लिँदिनँ अरूलाई घुस लिन पनि दिन्नँ भन्ने टुक्काले पुग्छ कि पुग्दैन ?’
सांसद राईले घुस डिल प्रकरण सामान्य प्रशासनमन्त्रीको मात्रै नभएर प्रधानमन्त्री केपी शर्मा ओलीको पनि विषय भएको बताइन् । कुनै मन्त्रीको विवाद भए सम्बन्धित मन्त्री र प्रधानमन्त्रीको लागि सोचनीय विषय भएको उनले बताइन् ।
सांसद राईले सामान्य प्रशासनमन्त्रीको बारेमा त पालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवाको विषयलगायतमा पनि घुसको डिलबारे धेरै समाचारहरू आउने गरेको बताइन् । उनले यस्ता घुसका डिल भएका अडियो सार्वजनिक भइरहँदा चुप लागेर बस्ने काम के प्रधानमन्त्री ओलीको हो त ? भन्दै प्रश्न समेत गरेकी छिन् ।‘मन्त्रीहरूका घुसका डिल बाहिरिएपछि सरकारले एक्सन लिनुपर्छ कि पर्दैन ? सरकारका मन्त्रीहरूले नैतिकता देखाउने कुरा त धेरै टाढाको कुरा भएको छ,’ सांसद राईले भनिन् ।उनले मालपोतको कार्यालयका तत्कालीन प्रमुखको सरुवा रोक्न र भूमि आयोग कास्कीका उपाध्यक्ष बनाउन भूमिसुधार मन्त्रीसमेत जोडिएकोले सामान्य प्रशासन मन्त्री र भूमिसुधार मन्त्रीको बारेमा प्रधानमन्त्रीले सदनमा जवाफ दिन सभामुखको रुलिङको समेत माग गरिन् ।
त्यस्तै, रास्वपाले पनि मन्त्री गुप्ताको अडियो काण्ड छानबिन गर्न माग गरेको छ । बैठकमा रास्वपा सांसद सुमना श्रेष्ठले छानबिनको माग गरेकी हुन् । ‘मन्त्रिमण्डलको अर्को काण्ड कास्कीको मालपोत कार्यालयमा को पठाउने भन्नेबारे सेटिङ, जिल्लाको भूमि आयोगमा सेटिङमा भूमि विधेयक फास्टट्रयाकबाट पास गर्न खोजेको कुरो त बुझ्यौँ नि,’ सांसद श्रेष्ठले भनिन्, ‘आफू अनुकूल मान्छे, आफू अनुकूल कानुन, एउटा मन्त्रीले अर्को मन्त्री पोलेको छ । त्यसैले गर्दा हामी यसको छानबिनको माग गर्दछौँ ।’उनले सम्बन्धित ठाउँ भनेको कुन ठाउँ हो, कसको ठाउँ हो ? भनेर प्रश्न गरिन् । ‘अडियोमा भनिएको बा को हुन् ? दुईतिहाइ भनेको मिलिजुली भाग खानलाई हो ? कसको तागत, कस्तो संस्कार के फरक भयो यति धेरै वर्षहरूमा ? जनताले के पाए ?,’ सांसद श्रेष्ठले भनिन् ।
त्यस्तै, सत्तापक्ष दल अर्थात् नेकपा एमालेका नेता योगेश भट्टराईले सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको अडियो प्रकरणका विषयमा प्रधानमन्त्रीले छानबिन गर्नुपर्ने बताएका छन् । उक्त विषय संसद्मा समेत कुरा उठेकाले सम्बन्धित मन्त्रीले समेत संसद्मा आएर प्रष्ट पार्नुपर्ने बताउँदै उनले यसमा मन्त्रीहरूको संलग्नता रहेको पुष्टि भए प्रधानमन्त्रीले पदबाट हटाउनुपर्ने समेत बताएका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान अयोगमा असार १० गते दर्ता नम्बर सी–०७८५५५ बाट परेको उजुरीमा सामान्य प्रशासनमन्त्री गुप्ताले मालपोत कार्यालय कास्कीमा हाल कार्यरत चिरञ्जीवी पौडेल जानुभन्दा अगाडिका कार्यालय प्रमुखको थमौतीका लागि एक व्यापारीसँग ५३ लाख घुस डिल गरेको अडियोमा उल्लेख छ । उक्त प्रकरणमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी समेत जोडिएका छन् ।आर्थिक दैनिकले उक्त समाचार भने असार ११ गते सार्वजनिक गरेको थियो । समाचार सार्वजनिक नगर्न गरेको आग्रहलाई बेवास्ता गरी आर्थिक दैनिकले मुलुकमा सुशासन कायम गर्नका लागि भन्दै प्रमाणसहित सार्वजनिक गरेको हो, जुन मिडिया क्षेत्रमा आएको पहिलोपटक समेत हो ।
यस्तो थियो पहिलो पटक आर्थिक दैनिकले सार्वजनिक गरेको अडियो सहितका समाचार
https://www.aarthikdainik.com/news/185148/?fbclid=IwY2xjawLhVnFleHRuA2FlbQIxMQABHhtxyQBBo4OWztdS8Zs57mAUgSm7KNvh41Af5PXKrtKW-qzTB3uUNUhdIn_c_aem_YtWzb1Xa08rOEkUKHbxywA