काठमाडौं । देशको अर्थतन्त्र पूर्णरूपमा सक्रिय हुन नसक्दा यसको प्रत्यक्ष असर बैंक तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाहमा परेको छ । विशेषगरी हायर पर्चेज कर्जामा उल्लेख्य गिरावट देखिएको छ ।
आर्थिक गतिशीलता कमजोर हुँदा बजारमा नयाँ कर्जाको माग पनि सुस्त भएको छ । त्यसैका कारण कृषि, औद्योगिक, व्यावसायिक वा निजी प्रयोजनका लागि सवारीसाधन, मेसिनरी उपकरण वा अन्य साधन किस्ताबन्दीमा खरिद गर्न लिइने कर्जा अपेक्षाकृतरूपमा बढ्न नसकेको हो ।
सामान्यतया सम्पूर्ण किस्ता तिरेपछि मात्र स्वामित्व प्राप्त हुनेगरी दिइने यस्ता कर्जामा माग नबढ्नु अर्थतन्त्रको शिथिल अवस्थाकै संकेत हो । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको जेठ मसान्तसम्म सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंक, १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनी गरी कुल ५४ वटा संस्थाहरूले ५५ खर्ब ५४ अर्ब ६४ करोड ४७ लाख रुपैयाँ कर्जा प्रवाह गर्दा हायर पर्चेज क्षेत्रमा मात्र कुल एक खर्ब ३० अर्ब ९३ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा पाँच अर्ब ४१ करोड ९० लाख रुपैयाँले मात्र बढी हो । गत आर्थिक वर्षको जेठसम्म कुल ५१ खर्ब २८ अर्ब ६२ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेकोमध्ये हायर पर्चेज क्षेत्रमा कुल एक खर्ब २५ अर्ब ५१ करोड ३० लाख रुपैयाँ प्रवाह गरेका थिए ।
गत जेठ मसान्तसम्म वाणिज्य बैंकहरूले कुल ४९ खर्ब ३२ अर्ब ४७ करोड रुपैयाँ कर्जा प्रवाह गर्दा हायर पर्चेज क्षेत्रमा मात्र एक खर्ब १५ अर्ब सात करोड रुपैयाँ प्रवाह गरेका छन् । गत आवको सोही अवधिको तुलनामा सात अर्ब ४० करोड रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरूले ४५ खर्ब ३२ अर्ब १८ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा हायर पर्जेज क्षेत्रमा मात्र कुल एक खर्ब सात अर्ब ६७ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
राष्ट्र बैंकका अनुसार चालू आवको जेठ मसान्तसम्ममा विकास बैंकहरूले कुल पाँच खर्ब २० अर्ब २५ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा हायर पर्चेज क्षेत्रमा मात्र प्रवाह गरेको कर्जा रकम १२ अर्ब ४९ करोड ९० लाख रुपैयाँ रहेको छ । यो कर्जा गत आवको सोही अवधिको तुलनामा दुई अर्ब एक करोड ७० लाख रुपैयाँले कम हो । गत आवको सोही अवधिमा विकास बैंकहरूले कुल चार खर्ब ९७ अर्ब ७४ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा हायर पर्चेज क्षेत्रमा १४ अर्ब ५१ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
फाइनान्स कम्पनीहरूले भने चालू आवको पछिल्लो अवधिमा एक खर्ब एक अर्ब ९२ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा हायर पर्चेज क्षेत्रमा तीन अर्ब ३६ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा गत आवको सोही अवधिको तुलनामा तीन करोड ६० लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा फाइनान्स कम्पनीहरूले ९८ अर्ब ६९ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा हायर पर्चेज क्षेत्रमा मात्र प्रवाह गरेको कुल कर्जा रकम तीन अर्ब ३२ करोड ६० लाख रुपैयाँ रहेको थियो ।