काठमाडौं । एकताका देश, ठाउँ, बाउआमा, घरपरिवार छोडेर विदेशतिर भासिएका पूर्वनेपालीहरू त्यहाँ केही गर्न नसकेपछि, त्यहाँ बदमासी गरेपछि, त्यहाँ बस्न नसक्ने परिस्थिति बन्दै गएपछि, त्यहाँ कारबाहीको दायराभित्र परेपछि स्वदेश फर्किन्छन् र देशप्रेमले, देशको मायाले, देशको विकास गर्ने हुटहुटीले, मातृभूमिको प्रेमले स्वदेश फर्किएको भनेर राग अलाप्छन् । त्यो पनि काँचो सुपारी खाएर गीत गाएजस्तो गरेर नेपाली शब्द नै बिगरेर, राम्रोसँग शुद्धसँग नेपाली शब्द उच्चारण गर्न नजानेको जस्तो गरेर, अंगे्रजीकरण गरेजस्तो गरेर बोल्ने गर्दछन् । यही दक्षिणी छिमेकमा छ महिना दरवान बसेर फर्किएको एउटा पहाडिया नेपालीले गाउँका साथीभाइलाई मकैको पात देखाउँदै यी लम्बा लम्बा क्या है ? भनेर सोध्ने गरेको प्रसङ्ग जताततै सुन्न पाइन्छ । झन् युरोप–अमेरिका भासिएको नेपाली त अंग्रेजीको देखासिकी गर्ने नै भयो । युरोप–अमेरिकातिर दुई/चार वर्ष बसेर दोस्रो दर्जाको नागरिक बनेर काम गरेर फर्किएका नेपालीहरूको सरसर्ती अनुहार बोल्ने गरेको नेपाली भाषाका शब्द सम्झौँ अनि स्पष्ट भइन्छ, कसैलाई केही भन्नै पर्दैन । सामान्य बोलीचालीमा प्रयोग गरिने नेपाली भाषामा पनि जान्ने पल्टिन बीचमा अंग्रेजी शब्द मिसाएर बोल्ने र नेपाली शब्दलाई अंग्रेजीजस्तो सुनिने गरी काँचो सुपारी खाएको बेला जिब्रो बटारिएको जस्तो गरेर बोल्ने गर्दछन् र त्यसैलाई आफ्नो पुरुषार्थ ठान्छन् ।
नेपाल बसेका नेपाली बोल्ने, जतिसुकै जान्ने र विद्वान् नै किन नहुन् उनीहरूलाई ती फिरन्तेहरूले मान्छे नै ठान्दैनन् । उनीहरूलाई नहोच्याई, नघोची बोल्दैनन् । प्रायजसो फुलेर बस्छन्, गमक्क पर्छन् । नेपालमा अपराध गरेर खाडी क्षेत्रमा भासिएर फर्किएका वा विदेशी कारागारमा कैद भुक्तानी गरेर फर्किएका नै किन नहुन्, विदेशबाट फर्किएका नेपालीको नेपालमै बस्ने सच्चा नेपालीका अगाडि धाक, रवाफ र शान बेग्लै हुन्छ, उनीहरू छोईनसक्नुका हुन्छन् । ‘नेपाल गए कपालसँगै, बर्मा गए कर्मसँगै’ भन्ने चलन थियो । पहिला–पहिला अहिलेको काठमाडौंलाई नेपाल भनिन्थ्यो । आफ्ना सामान बेचबिखान गर्न र आवश्यक सामान औषधीमुलो लिएर फर्कन हप्तौँ दिन लगाएर एकीकरणपछि जनता जानै पथ्र्यो । त्यतिबेला हुनेखाने जनताले पिनाले नुहाउँथे । सामान्य मानिसले माटोले नै नुहाउँथे । हप्तौँ दिन हिँड्दा पनि नुहाउनु पथ्र्यो, टाउको ननुहाई हुन्थ्यो, कपाल एउटै गुजुल्टो हुन्थ्यो । त्यही भएर नेपाल गए कपालसँगै भनियो होला । तिनताका नेपालीहरू अहिले खाडी क्षेत्रमा भासिएजस्तै गरी बर्मा जान्थे । बर्मा गए पनि काम नगरी खान पाइन्नथ्यो । त्यसै भएर नेपाल गए कपालसँगै, बर्मा गए कर्मसँगै भनियो होला । अहिले खाडी, युरोप, अमेरिका जता गए पनि काम उही बर्मा जानेको जस्तै हो । नेपालीको हैसियत पनि उही हो । तर पनि क्याबिनमा काम गरेकी केटीले गाउँ फर्किएपछि देखाउने तडकभडक अहिले विदेशबाट फर्कने नेपाली लिच्चडहरूले देखाउँछन् । उनीहरूले मैका पाए भने राजनीतिक नेतृत्वलाई सजिलै पट्याउँछन् । दुई/चारवटा अंग्रेजी शब्द मिसाएर बोलेपछि यहाँको नेतृत्व मक्ख पर्छ, यसले त नजानेको केही छैन भन्ठान्छ, उसले पनि आफूलाई सर्वज्ञ कहलाउँछ । अलिअलि उताको दोस्रो दर्जा वा सी ग्रेडको कमाइको धनको स्वाद चखाउँछ, अनि के चाहियो ? उसले रोजेका ठाउँमा नियुक्ति दिन्छ । नियुक्ति पाएको दिनदेखि त्यो लफुङ्गो बर्बराउन थाल्छ, सुनेको जति शब्द भट्भट्याउँछ, सञ्चार माध्यमको सकेसम्म दुरुपयोग गर्छ । बीपी कोइरालालाई राजा महेन्द्र र सूर्यबहादुर थापासँग दाँज्छ, समान हैसियतमा राख्छ । सुशासनका कुरा, प्रजातान्त्रिक मूल्य र मान्यताका कुरा, प्रजातान्त्रिक संस्कार र आदर्शका कुरा भनेर त्यस्त लफुङ्गले निन्द्रामा बर्बराएजस्तो गरी बर्बराएको कुरालाई नेपाली जनताले जान्ने बुझ्ने मान्छेको कुरा भनेर पत्याइदिनुपर्ने बाध्यता छ, तर म अलमल्ल छु, के हो उसको विज्ञता ? उसले के सिकेर आएछ ? उसले नेपाली र नेपालीलाई के दिन लागेको हो ? ऊ को हो ? किन गयो विदेश ? किन फर्कियो ? किन ठूला कुरा गरिरहेको छ ? उसले ठाउँ पाउँदा नेपाललाई के दियो ? यस्ता प्रश्नले सताइरहेको छ तर उत्तर भेटिएको छैन । त्यस्ता मान्छेले बोलेको वा बर्बराएको जे भनिए पनि ज्ञान धेरै भएर उम्लिएको होला कि ? रित्तो भएर धेरै बजेको होला वा के होला ? बुझ्न सकिने अवस्था छैन । तर त्यस्तो लाग्दैन कि ती मान्छे ज्ञानका भण्डार हुन् । तिनले विदेश गएपछि यहाँको पनि बिर्सिए, उताको पनि लिन सकेका छैनन् । ज्ञान भरिएर उम्लिएको होइन, रित्तो गाग्रोजस्तो ट्याङट्याङ बजेको मात्रै हो, ऊभित्र केही छैन । होइन भन्ने लाग्छ भने २०४८ पछि विदेशमा टिक्न नसकेर नेपाल फर्किए पनि गोविन्दराज जोशीको छोरो देशप्रेमले फर्किएको भनेजस्तै गरी देश फर्किएर नेपालमा सेवा गर्ने मौका पाएका व्याक्तिहरूको अनुहार स्मरण गर्दै जाऔँ त, कसले के गर्यो भनेर । कसैले पनि केही गरेका छैनन् । रमेश हमालले के–के न नाप्यो भनेर भन्नु त जनता झुक्याउनु मात्रै हो । यथार्थमा यी मातृभूमिलाई लात मारेर विदेश भासिएर पनि त्यहाँ विभिन्न कारणले टिक्न खान नसकेर फेरि नेपालतिरै मुन्टिएका स्वाँठहरू आफ्नै पेट पाल्नका लागि फर्किएका हुन् । देशको माया लागेर देश विकास गर्न फर्किएका होइनन् । यही देखिएको छ ।