काठमाडौं । सिद्धार्थ बैंकको ऋणपत्रको बिक्री खुला भएको छ । बैंकले यही असार २९ गते आइतबारबाट ‘एसबीएल डिबेन्चर २०९१’ नामक ऋणपत्रको बिक्री खुला गरेको हो ।
बैंकका अनुसार ऋणपत्र १० वर्षे अवधिको हो । ऋणपत्रको कुल निष्काशित रकम दुई अर्ब ५० करोड रुपैयाँ रहेको छ । सार्वजनिक निष्कासन भएको कुल रकममध्ये एक अर्ब रुपैयाँ सामूहिक लगानी कोष र सर्वसाधारणका लागि छुट्याइएको छ । ऋणपत्रका लागि लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ । ऋणपत्रमा लगानी गर्नेले वार्षिक सात दशमलव २५ प्रतिशत ब्याज प्राप्त गर्नेछन् । यो ब्याजदर हाल वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा दिइरहेको औसत छ प्रतिशत ब्याजदरभन्दा बढी हा । आवेदन दिने समयसीमा ऋणपत्रमा छिटोमा असार ३२ गतेसम्म आवेदन दिन सकिनेछ । यदि सो अवधिसम्म सम्पूर्ण ऋणपत्र बिक्री नभएमा, साउन ११ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जानकारी दिएको छ ।