काठमाडौं । नेपाली राजदूतावास जर्मनीका राजदूत डा सैल रुपाखेतीले नेपाल र जर्मनीबीच व्यापार तथा लगानी बढाउनुपर्नेमा जोड दिएका छन् ।
जर्मन–एसिया प्रशान्त व्यावसायिक संघ र नेपाल–जर्मन उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा जर्मनीको हाम्बर्गमा भएको लगानीलाई सुदृढीकरणसम्बन्धी छलफलमा उनले दुई देशबीचको आर्थिक गतिविधि बढाउनुपर्नेमा जोड दिएका हुन् । कार्यक्रममा उनले नेपालको पर्यटन तथा ऊर्जा क्षेत्रमा धेरै नै लगानीको सम्भावना भएकाले जर्मनीका लगानीकर्तालाई आकर्षित गर्नुपर्ने बताए । यसका लागि भूमिका खेल्न उनले नेपाल–जर्मन उद्योग वाणिज्य संघलाई आग्रह गरे । जर्मन एसिया एसिया प्रशान्त व्यावसायिक संघका प्रमुख अल्मुट रोबनेरले नेपाली व्यावसायिक प्रतिनिधिहरूलाई थप व्यापार साझेदारीलाई नवीन तरिकाले लानुपर्ने बताए ।
उक्त छलफलमा एक सय ५० भन्दा बढी व्यावसायिक सहभागीले भाग लिएका थिए । उनीहरू नेपाली, जर्मन, चिनियाँ, चीन, भारत, पाकिस्तान र अन्य देशका रहेको बताइको छ । उक्त कार्यक्रममा विभिन्न देशका बियरहरू राखिएको थियो, जसमा नेपालको बाह्रसिङ्गे बियर उत्कृष्ट भएको थियो । एयरबसका हेलिकोप्टर नेपालमा सगरमाथा बेस क्याम्पसम्म उड्न सफल भएकोमा जर्मन लगानीकर्ताहरूले हर्ष व्यक्त गरेका थिए । जर्मनबाट नेपालले हेलिकोप्टर आयात गरिरहेको छ । साथै, नेपाली इन्जिनियर्सहरूले राम्रो काम गरिरहेको बारेमा एयरबस अधिकारीहरूले बताएका थिए । तर नेपालले अन्तर्राष्ट्रिय बोलपत्र गर्दा त्यसलाई झेलेर अगाडि बढ्न धेरै कठिनाई भएको उनीहरूको गुनासो थियो । यसलाई सुधार्न सके दुई देशबीच आर्थिक गतिविधि झन् बढ्ने जर्मन लगानीकर्ताहरूले बताएका थिए ।