कोलम्बो । श्रीलंकाको केन्द्रीय बैंक (सीबीएसएल)को पछिल्लो तथ्यांकअनुसार विदेशमा रहेका श्रीलंकाका नागरिकले जुन महिनामा ६३ करोड ५७ लाख अमेरिकी डलर विप्रेषण पठाएका छन् । यो सन् २०२४को जुनको तुलनामा २२ प्रतिशतले बढी हो ।
सन् २०२४मा कुल विप्रेषण छ अर्ब ५७ करोड डलर प्राप्त भएको थियो । सन् २०२५को जनवरीदेखि जुनसम्मको अवधिमा विप्रेषण तीन अर्ब ७० करोड डलरभन्दा बढी रहेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८ दशमलव नौ प्रतिशतले बढी हो । श्रीलंकाका लागि विप्रेषण नै वैदेशिक आयको प्रमुख स्रोत हो । श्रीलंकाबाट सन् २०१९मा तीन लाख १२ हजार आठ सय ३६ जना वैदेशिक रोजगारीका लागि विदेशिएका थिए ।