ब्रसेल्स । युरोपेली संघ (ईयू) प्रमुख उर्सुला फोन डर लायनले आइतबार अमेरिकाले फलाम र एलुमिनियममा लगाएको शुल्कको जवाफमा युरोपेली संघले लगाउने कर केही समयका लागि रोकिएको बताएकी छन् । संघले वार्ता गर्न केही समय पर्खने योजना बनाएको उनले बताइन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार चेतावनी दिँदै भने, ‘यदि अगस्ट १ भित्र कुनै व्यापार सम्झौता नभएमा, युरोपेली संघमा उत्पादन भएका सामानहरूमा ३० प्रतिशतसम्मको नयाँ भन्सार शुल्क लागू गरिनेछ ।’
‘अमेरिकाले वार्ता सफल नभएमा कडा कदम चाल्ने औपचारिक सूचना दिएको छ’, लायनले भनिन्, ‘त्यसैले हामीले पनि अगस्टको सुरुदेखि लागू हुने भनिएको हाम्रो जवाफी कदमलाई केही समयका लागि स्थगित गरेका छौँ ।’ उनले भनिन्, ‘हामी चाहन्छौँ समस्या छलफलबाट समाधान होस् । तर यदि आवश्यक परेमा, हामी जवाफ दिन तयार छौँ ।’
सम्झौताको ढोका अझै खुला
लायनले जोड दिँदै भनिन्, ‘युरोपेली संघ सधैँ वार्ताबाट समाधान खोज्ने पक्षमा रहँदै आएको छ । अहिले पनि हामी यही बाटो रोज्छौँ । अगस्ट १ सम्मको समय हामीले सम्झौताका लागि प्रयोग गर्नेछौँ ।’
युरोपेली संघको जवाफी कर लगाउने निर्णय यसअघि सोमबार रातिदेखि लागू हुने तय थियो । तर वार्ताको सम्भावना बाँकी रहेको भन्दै त्यो निर्णय केही समयलाई स्थगित गरिएको हो ।
युरेपेली संघले २१ अर्ब युरो बराबरको अमेरिकी सामग्रीमा शुल्क लगाउने तयारी गरेको थियो । अमेरिकाद्वारा यस वर्षको सुरुमा फलाम र एलुमिनियममा लगाइएको भन्सार शुल्कको जवाफमा २१ अर्ब युरो बराबरका वस्तुहरूमा कर लगाउने योजना ईयूको थियो । तर सम्झौताको सम्भावनालाई खुला राख्दै, संघले मार्च महिनामा नै त्यो कदम रोकेको थियो ।
‘हामी सुरुदेखि नै तयार थियौँ । अहिले पनि यदि आवश्यक पर्यो भने तुरुन्तै जवाफी कदम चाल्न सक्ने स्थिति छ’, लायनले भनिन् । रासस/एएफपी