काठमाडौँ , नेपाल सरकारको मन्त्रिपरिषद्ले बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको कार्यक्षमता र जिम्मेवारीबारे छानबिन गर्न समिति गठन गरेको छ। पूर्वन्यायाधीश कृष्ण गिरीको अध्यक्षतामा कपिलदेव ओली र जीवनप्रकाश सिटौलासमेत रहेका तीन सदस्यीय छानबिन समिति बनेसँगै ओझा स्वतः निलम्बित भएका हुन्। बीमा ऐन, २०७९ अनुसार छानबिन समिति गठन भएमा अध्यक्ष स्वतः निलम्बनमा पर्ने कानुनी व्यवस्था छ। सरकार अध्यक्ष ओझालाई खराब आचरण र पदीय दायित्व पालना नगरेको आरोपमा पदमुक्त गर्न लागेको हो। ओझामाथि फर्जी कागजात पेश गरी नियुक्ति लिएको आरोपमा सर्वोच्च अदालतमा रिट परेको छ भने अख्तियारले समेत छानबिन गरिरहेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ।