काठमाडौं । संघीय संसद्अन्तर्गतको प्रतिनिधिसभाले घुस प्रकरणलाई लिएर संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको राजीनामा माग गरेको छ । सोमबारको बैठकमा सांसदहरूले प्रत्यक्ष र अप्रत्यक्षरूपमा मन्त्री गुप्ताले घुस लेनदेन गरेको अडियो तथा समाचारहरू सार्वजनिक भएको अवस्थामा राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताए ।
सोमबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले अप्रत्यक्षरूपमा वर्तमान सरकारले भ्रष्टाचारको फाइलहरू बन्द गर्दै जाँदा भ्रष्टाचार थप मौलाउँदै गएको बताए । उनले अघिल्लो सरकारले अघि बढाएको भ्रष्टाचारसम्बन्धी अनुसन्धानलाई कमजोर तुल्याउने र रोक्ने काम वर्तमान सरकारले गरेको बताए । ‘सरकारले भ्रष्टाचारका फाइलहरू बन्द गर्दैछ । जसले गर्दा भ्रष्टाचार झन् मौलाउँदै गएको छ । सम्पत्ति शुद्धीकरणको क्रियाकलाप बढ्दै गएका छन् । अनि देश कसरी खैरो सूची (ग्रे–लिस्ट)बाट बाहिर निस्कन सक्छ ? दाहालले प्रश्न गरे ।
बैठकमा पूर्वप्रधानमन्त्री दाहालले वर्तमान सरकार भ्रष्टाचार नियन्त्रणमा उदासीन भएको समेत बताए । ‘मैले वर्तमान सरकार गठनदेखि नै भनेको थिएँ, यो सरकार सुशासनको डरले बनेको हो भनेर । सुशासनसँगको त्यो डर आजपर्यन्त पनि कायमै रहेको छ । त्यही डरले दुई ठूला दल मिल्यो, अनि अहिले त्यही डरका कारण सरकारले हाकाहाकी भ्रष्टाचारीहरूलाई जोगाउँदै छ,’ उनले भने । सरकार कमिसनको सम्झौता र दलालको निर्देशनमा चल्ने प्रवृत्तिमा लागेर सुशासनको पूर्ण पतनतर्फ उन्मुख भएकोभन्दै दाहालले उक्त क्रियाकलाप लोकतन्त्रका लागि खतराको संकेत भएको समेत बताए । ‘वर्तमान सरकार दलाल र बिचौलियाको स्वार्थमा चलेको हुँदा यो अप्राकृतिक गठबन्धनको चरित्र देखिएको छ । जुन लोकले नै लाज मान्ने गरी उजागर भएको छ,’ उनले भने ।
संसद्मा बोल्दै सत्तापक्ष दल अर्थात् नेकपा एमालेका सांसद किरणकुमार साहले मन्त्री गुप्तालाई बर्खास्त गरी निष्पक्ष छानबिन गर्न माग गरेका छन् । मन्त्री गुप्ताले घुस डिल गरेको अडियो सार्वजनिक भइसकेको अवस्थामा के सरकार मौन बस्न मिल्छ ? उनले प्रश्न गर्दै भने । ‘दुनियाँले सुनेको अडियो सरकारले नसुनेझैं गर्नु गलत हो, लोकतन्त्रको अपमान हो । म यो सदनमार्फत् गुप्ताज्यूलाई बर्खास्त गर्न माग गर्छु र निष्पक्ष छानबिनको माग समेत गर्दछु,’ सांसद साहले भने ।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पनि संसद्मार्फत् वर्तमान सरकारका मन्त्रीहरू एकपछि अर्को लेनदेन काण्डमा मुछिएकाले राजीनामा आउनुपर्ने वा बर्खास्त गर्नुपर्ने बताए । ‘मन्त्रीहरू एकपछि अर्को लेनदेन काण्डमा मुछिएको अवस्थमा नैतिकता भएमा ती मन्त्रीको राजीनामा आउनुपर्ने वा बर्खास्त गरिनु राम्रो हुन्छ,’ उनले भने ‘यी विषयहरू सार्वजनिक हुँदा प्रधानमन्त्री ओलीको अध्यक्षतमा सुशासन आयोग गठन भएको थियो । उक्त आयोगले के गरिरहको छ ?’ उनले मन्त्रीका गलत कार्यको विषयमा निरन्तर प्रश्न उठाइरहने चेतावनी समेत दिए ।
पछिल्लो समय गृहमन्त्री रमेश लेखक, सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी गम्भीर आरोप लागेको अवस्थामा पूर्वप्रधानमन्त्री दाहालले केपी ओली नेतृत्वको सरकारले भ्रष्टाचार तथा भ्रष्टाचारीलाई संरक्षण गरेको आरोप लगाएका हुन् ।
संसद्मार्फत् भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले उक्त प्रकरणमा आफू र मातहतका कोही पनि नजोडिएको बताए । माओवादी सांसद माधवप्रसाद सापकोटाले घुस संवादको अडियोबार प्रश्न गरेका थिए । जवाफमा मन्त्री अधिकारीले कास्की जिल्ला वा अन्य जिल्लाको भूमि समस्या समाधान आयोगका अध्यक्ष चयनमा कुनै अनियमितता नभएको दाबी गरे । ‘हाम्रो मन्त्रालय तथा मसँग जोडिएका केही कुराहरू आएको छ, अध्यक्ष, मन्त्री आयोगका सदस्यहरू बनाउने बनाउने सन्दर्भमा आफू मात्र नभई मेरो मन्त्रालय र मसँग सम्बन्धित कुनै पनि व्यक्तिहरूले काहीँकतै त्यस्तो कारोबार र डिल गरेको छ भने सत्यतता ल्याइदिनुस् कानुनअनुसार कारबाही भोग्न तयार छु,’ उनले भने,‘ आवश्यक हल्ला गरेर चरित्र बिगार्ने र बदनाम गरी काममा अवरोध गर्नतर्पm नलाग्न सबैमा आग्रह गर्न चाहन्छु ।’
तथ्यको आधारमा अघि बढ्न सबैलाई आग्रह गर्दै उनले घुस प्रकरणमा आफूले सुन्नमा आएका कुरा सार्वजनिक गर्ने दाबी समेत गरे ।
संसद्बाहिर सत्तापक्ष दल अर्थात् नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पनि घुस काण्डमा मुछिएका मन्त्री गुप्तालाई तत्काल बर्खास्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् ।
कांग्रेसको बुद्धिजीवी विभागले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा उनले गुप्ताले गल्ती नगरेको भए तुरुन्त राजीनामा दिएर आफूमाथि छानबिनको माग गर्नुपर्ने बताए ।
‘आफूले गल्ती गरेको होइन भन्ने आँट नभएको अवस्था देखिएकाले प्रधानमन्त्रीले तुरुन्त मन्त्रीलाई बर्खास्त गरिहाल्नुहोला भन्ने मेरो अपेक्षा छ । यसबारेमा टिप्पणी गर्नुपर्दैन भन्ने लागेको थियो,’ महामन्त्री थापाले भने, ‘तर टिप्पणी गर्नुपर्ने अवस्था आयो । प्रधानमन्त्रीज्यू तपाईंले तत्काल तपाईंको मन्त्रीलाई बर्खास्त गर्नुस् ।’
उनले घटनाको छानबिन हुनुपर्ने बताए । अनुसन्धान गर्दैगर्दा काहीँकतै कोही दोषी देखिन्छ भने उसलाई कारबाही हुनुपर्ने थापाको भनाइ थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा असार १० गते दर्ता नम्बर सी–०७८५५५ बाट परेको उजुरीमा सामान्य प्रशासनमन्त्री गुप्ताले मालपोत कार्यालय कास्कीमा हाल कार्यरत चिरञ्जीवी पौडेल जानुभन्दा अगाडिका कार्यालय प्रमुखको थमौतीका लागि एक व्यापारीसँग ५३ लाख घुस डिल गरेको अडियोमा उल्लेख छ । उक्त प्रकरणमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी समेत जोडिएका छन् ।