काठमाडौं । कर्णाली प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप रकम बढेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको कर्णाली प्रदेशको आर्थिक गतिविधि अध्ययन अर्धवार्षिक प्रतिवेदन २०८१/८२ अनुसार कर्णाली प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरूले संकलन गरेको निक्षेप यसअघिको तुलनामा १२ दशमलव ५७ प्रतिशतले वृद्धि भई ७४ अर्ब २८ करोड पुगेको हो । गत अवधिमा यस्तो निक्षेप पाँच दशमलव ४२ प्रतिशतले वृद्धि भई ६५ अर्ब ९८ करोड ४७ लाख पुगेको थियो ।
राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा कर्णाली प्रदेशमा बढेको रेमिट्यान्स आप्रवाह, बैंकिङ सेवामा आएको विस्तार तथा सर्वसाधारणको बचत गर्ने बानीमा आएको विकासले कुल निक्षेपमा वृद्धि भएको हो । यसैगरी, बैंक तथा वित्तीय संस्थाहरूले कर्णाली प्रदेशको कृषि क्षेत्रमा प्रवाहित कर्जा गत आवको सोही अवधिको तुलनामा १४ दशमलव एक प्रतिशतले बढेर पाँच अर्ब १५ करोड ५६ लाख पुगेको छ । समीक्षा अवधिमा प्रवाहित कुल कृषि कर्जामध्ये सबैभन्दा बढी बीउविजन शीर्षकमा ११ लाख पुगेको छ भने सिँचाइ शीर्षकमा कृषि कर्जा प्रवाह भएको छैन ।
राष्ट्र बैंकका अनुसार कर्णाली प्रदेशमा बैंकहरूले लगानी गरेको कृषि कर्जामध्ये सबैभन्दा धेरै एक अर्ब ८५ करोड ८२ लाख सुर्खेत जिल्लामा मात्रै भएको छ भने सबैभन्दा कम १३ करोड ७५ लाख मुगु जिल्लामा प्रवाह भएको छ ।
क्षेत्रगत औद्योगिक कर्जाअन्तर्गत कर्णाली प्रदेशमा आर्थिक वर्ष २०८०/८१ को पुुस मसान्तमा तीन अर्ब ३० करोड २१ लाख रहेको कुल औद्योगिक कर्जा समीक्षा अवधिमा १४ दशमलव ९५ प्रतिशतल वृद्धि भई तीन अर्ब ७९ करोड ५६ लाख पुगेको छ । समीक्षा अवधिमा धातुका उत्पादन मेसिनरी तथा इलेक्ट्रोनिक्ससम्बन्धी उद्योगमा प्रवाहित कर्जा सबैभन्दा बढी २९ दशमलव ४५ प्रतिशतले वृद्धि भएको छ भने कृषि, वन तथा पेय पदार्थ उत्पादनसम्बन्धी उद्योगमा प्रवाहित कर्जामा १५ दशमलव २९ प्रतिशतले कमी आएको छ । समीक्षा अवधिमा सुर्खेत जिल्लामा सबैभन्दा धेरै दुई अर्ब ३२ करोड ३२ लाख औद्योगिक कर्जा प्रवाह भएको छ भने डोल्पा जिल्लामा सबैभन्दा कम एक करोड २८ लाख कर्जा प्रवाह भएको छ ।
समीक्षा अवधिमा कुल औद्योगिक कर्जामध्ये गैर–खाद्य वस्तु उत्पादनसम्बन्धी क्षेत्रकोे अंश सबैभन्दा बढी २९ दशमलव ७२ प्रतिशत र खानीसम्बन्धी क्षेत्रको अंश सबैभन्दा कम एक दशमलव ४३ प्रतिशत रहेको छ । त्यसैगरी, निर्माणसम्बन्धी उद्योग, कृषि, वन तथा पेय पदार्थ उत्पादनसम्बन्धी उद्योग, धातुका उत्पादन मेसिनरी तथा इलेक्ट्रोनिक्ससम्बन्धी उद्योग र विद्युत्, ग्यास तथा पानीसम्बन्धीे उद्योगले कुल औद्योगिक कर्जाको क्रमशः २८ दशमलव ६८ प्रतिशत, २३ दशमलव ५५ प्रतिशत, ११ दशमलव ८७ प्रतिशत र चार दशमलव ७५ प्रतिशत हिस्सा ओगटेका छन् ।
राष्ट्र बैंकका अनुसार कर्णाली प्रदेशमा बैंक तथा वित्तीय संस्थाका चार सय ७७ शाखा रहेका छन् । गत अवधिमा यस प्रदेशमा जम्मा चार सय ६६ वटा शाखा रहेका थिए । समीक्षा अवधिमा ११ शाखा विस्तार भई शाखा संख्या चार सय ७७ पुगेको छ, जसमध्ये वाणिज्य बैंकका दुई सय १५ वटा, विकास बैंकका २१ वटा, वित्त कम्पनीका तीन वटा र लघुवित्त वित्तीय संस्थाका दुई सय ३८ वटा शाखाहरू सञ्चालनमा रहेको प्रतिवेदनमा उल्लेख छ ।