काठमाडौं । नेपाल एसबीआई बैंकको ऋणपत्र निष्काशन तथा बिक्री खुला भएको छ । बैंकले सोमबारबाट तीन अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्काशन गरेको हो । बैंकले एक हजार अंकित दरका कुल ३० लाख एकाइ भएको ‘७ प्रतिशत नेपाल एसबीआई बैंक ऋणपत्र–२०९०’ निष्काशन गरेको हो ।
ऋणपत्रको कुल एकाइमध्ये ६० प्रतिशत अर्थात् १८ लाख एकाइ बैंकले व्यक्तिगत तरबरबाट बिक्री गर्नेछ। बाँकी १२ लाख एकाइमा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन् । सोमध्ये ५ प्रतिशत अर्थात् ६० हजार एकाइ सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ । यो ऋणपत्रमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरूबाट अथवा सीडीएससीको ‘मेरो सेयर’मार्फत आवेदन पनि दिन सकिनेछ । ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ एकाइदेखि अधिकतममा १२ लाख एकाइसम्म खरिद आवेदन दिन सक्नेछन् । ऋणपत्रको निष्काशन बन्द छिटोमा साउन १ गते हुनेछ । यो अवधिसम्म मागबमोजिम आवेदन नपरेको खण्डमा साउन १२ गतेसम्म बिक्री खुला गरिनेछ । बैंकको यो १० वर्षे अवधिको ऋणपत्र हो । यसमा लगानीकर्ताले वार्षिक सात प्रतिशत ब्याज पाउनेछन् । ऋणपत्र बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।