काठमाडौं । नबिल बैंक लिमिटेडले ऋणपत्रको बिक्री आह्वान गरेको छ । बैंकले यही साउन छ गतेबाट एक हजार रुपैयाँ अंकित मूल्य कायम रहने गरी तीन अर्ब रुपैयाँबराबरको ३० लाख कित्ता ऋणपत्रको बिक्री आह्वान गरेको हो । वार्षिक सात प्रतिशत ब्याजदर तोकिएको ऋणपत्रको नाम ‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ तोकिएको छ ।
बैंकका अनुसार कुल निष्काशनमध्ये १८ लाख एकाइ व्यक्तिगत तवरबाट र १२ लाख एकाइ आम सर्वसाधारणका लागि निष्काशन गरिनेछ । सार्वजनिक निष्काशनमध्ये पाँच प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ । आठ वर्ष अवधिको यो ऋणपत्रमा वार्षिक ७ प्रतिशत दरले ब्याज भुक्तानी हुनेछ । यो ऋणपत्रमा सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सकिनेछ । ऋणपत्रको निष्काशन बन्द छिटोमा साउन ९ गते र ढिलोमा साउन २० गते बैंकिङ समयपछि हुनेछ । इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा १२ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।