काठमाडौं । मन्जुश्री फाइनान्सले लिमिटेडले आफ्ना शाखामार्फत संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रमहरू गरेको छ । बुटवल शाखामार्फत प्रारम्भ गरेको कार्यक्रम वीरगंज, पोखरा, मुर्गिया, इटहरी, धरान हुँदै मन्जुश्रीले शिक्षा, स्वास्थ्य तथा बालगृहलगा)यतका विभिन्न क्षेत्रमा काम गरिरहेको संघ संस्थालाई सहयोग गरेको छ ।
संस्थाका पोखरा शाखाले अमोर बालगृहलाई एक लाखबराबरको दैनिक आवश्यकताका सामग्रीहरू उपलब्ध गराई सहयोग गरेको छ । मुर्गिया शाखाले भने सैनामैना नगरपालिकाको मुर्गियास्थित परोहा बहुमुखी क्याम्पसको स्नातक तहमा अध्यनरत विद्यार्थीहरूलाई आवश्यक पुस्तक वितरण गरेको छ । धरान शाखाले पनि धरानमा अवस्थित श्री पञ्चकन्या माध्यमिक विद्यालय तथा श्री सावित्री माध्यमिक विद्यालयलाई पाठ्यक्रमका सामग्रीहरू वितरण गरेको छ । साथै फाइनान्सको बुटवल शाखाले नेपाल नियमित रक्तदाता संघद्वारा बुटवल–७ दीपनगरस्थित सिद्धेश्वरी लालकुमारी मावि परिसरमा रक्तदान कार्यक्रम, मधुमेह परीक्षण तथा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ । आफ्ना विभिन्न शाखामार्फत मन्जुश्री फाइनान्सले आफ्नो सामाजिक दायित्वलाई पूरै जोसका साथ पूरा गर्दै आएको छ भने आगामी दिनमा पनि अझै समाजको उन्नतिको लागि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिन्छ भन्ने विश्वास रहेको छ ।
फाइनान्सले २२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी करिब १८ अर्ब २० करोड रुपैयाँ कर्जा प्रवाह गरेको जानकारी दिएको छ । निक्षेपमा आकर्षक ब्याजदर तथा सुलभ दरमा कर्जा प्रवाह गर्दै आइरहेको मन्जुश्री फाइनान्सले हालसम्म २७ वटा शाखाका साथै एउटा विस्तारित काउन्टरबाट सेवा उपलब्ध गराइरहेको छ ।