काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरूले व्यावसायिक लक्ष्य निर्धारण गर्दा प्रथम बीमाशुल्कलाई पनि समेट्न निर्देशन दिएको छ । प्राधिकरणले जीवन बीमा कम्पनी र लघु जीवन बीमा कम्पनीहरूलाई आगामी आर्थिक वर्षका लागि आ–आफ्ना मातहतका कर्मचारी, विभाग, प्रादेशिक कार्यालय र शाखा तथा उपशाखा कार्यालयहरूलाई व्यावसायिक लक्ष्य (आवधिकरूपमा तय गर्ने मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक लक्ष्य) निर्धारण गर्दा प्रथम बीमाशुल्कका अतिरिक्त नवीकरण तथा म्यादी जीवन बीमाशुल्कलाई समेत अनिवार्य समावेश गर्न निर्देशन दिएको हो ।
प्राधिकरणले सबै जीवन बीमा कम्पनी र लघु जीवन बीमा कम्पनीहरूलाई जारी गरेको परिपत्रमा आगामी आर्थिक वर्षका लागि आफ्ना मातहतका कर्मचारी, उपशाखा/शाखा/प्रादेशिक कार्यालय र विभागहरूलाई व्यावसायिक लक्ष्य निर्धारण गर्दा प्रथम बीमाशुल्कका अतिरिक्त नवीकरण बीमाशुल्क तथा म्यादी जीवन बीमाशुल्कलाई समेत अनिवार्य समावेश गर्ने गरी निर्धारण गर्न निर्देशन दिएको उल्लेख छ ।
बीमकहरूले मातहतका कर्मचारी र विभाग तथा कार्यालयहरूलाई व्यावसायिक लक्ष्य निर्धारण गर्दा सावधिक र एकल बीमाशुल्क भुक्तानी हुने बीमालेखहरूलाई मात्र प्राथमिकता दिने गरेका गुनासाहरू आउने गरेको, बीमकहरू ठूलो रकमको बीमाशुल्क सङ्कलनमा केन्द्रित हुँदा बीमाको पहुँच न्यून आय भएका बर्गसम्म पुग्न नसकेको, बीमा अवधि नपुग्दै बीमालेख व्यतित तथा समर्पण हुनेलगायतका समस्या देखापरेको र त्यसबाट गुणस्तरीय एवं भरपर्दो बीमा सेवा प्रवाहमा चुनौती थपिएको सन्दर्भमा प्राधिकरणले त्यस्तो निर्देशन दिएको हो ।