बेइजिङ । चीनमा सन् २०२५ को पहिलो छ महिनामा ५६ लाख २० हजार नयाँ ऊर्जा सवारी (हरित ऊर्जा आधारित सवारी) दर्ता भएका छन्, जुन अहिलेसम्मकै सबैभन्दा बढी हो । चीनको सार्वजनिक सुरक्षा मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २७ दशमलव ८६ प्रतिशतले वृद्धि भएको हो ।
यो संख्या चीनको इतिहासमा कुनै पनि आधा वर्षको अवधिमा भएको सबैभन्दा धेरै हरित सवारी दर्ताको रेकर्ड हो । उक्त अवधिमा चीनमा दर्ता भएका कुल सवारीमध्ये ४४ दशमलव ९७ प्रतिशत हरित ऊर्जा सवारी थिए, जसले चीनको यातायात प्रणाली स्वच्छ ऊर्जा प्रणालीमा तीव्ररूपमा रूपान्तरण भइरहेको संकेत गर्छ । सन् २०२५ को मध्यसम्म, चीनको सडकमा चल्ने कुल हरित ऊर्जा सवारीको संख्या तीन करोड ६८ लाख ९० हजार पुगेको छ, जुन चीनमा चलिरहेका सबै प्रकारका सवारीमध्ये १० दशमलव २७ प्रतिशत हो । यीमध्ये ब्याट्रीबाट चल्ने सवारी सबैभन्दा अगाडि छन् । हाल चीनमा झन्डै दुई करोड ५५ लाख ४० हजार यस्ता सवारी छन्, जुन कुल हरित सवारीको ६९ दशमलव २३ प्रतिशत हो ।
गत दशकमा चीनको हरित सवारी क्षेत्रमा तीव्र वृद्धि देखिएको छ । सन् २०१४ मा जम्मा एक लाख २० हजार हरित सवारी मात्र सञ्चालनमा थिए । सन् २०२२को मध्यसम्म यो संख्या एक करोड नाघ्यो । सन् २०२३ को अन्त्यसम्म यो संख्या दोब्बर भयो र २०२४ को अन्त्यसम्म तीन करोड पार गर्यो ।