काठमाडौँ , त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको नेतृत्व फेरि परिवर्तन भएको छ। गृह मन्त्रालयले एक महिना नपुग्दै प्रमुख अध्यागमन अधिकृत विष्णुप्रसाद कोइरालालाई हटाएर खोटाङका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेलाई नयाँ जिम्मेवारी दिएको हो।गृहमन्त्रीस्तरीय निर्णयअनुसार मंगलबार कोइरालाको सरुवा गरिएको हो।
उनी ६ जेठमा सहसचिव तीर्थराज भट्टराई हटाइएपछि नियुक्त भएका थिए। भट्टराई अख्तियारको छानबिनमा परेपछि मन्त्रालयले अध्यागमनको नेतृत्व परिवर्तन गरेको थियो। कोइराला हाजिर हुन नपाउँदै अख्तियारले छापा मारेको थियो भने भट्टराई पछि धरौटीमा छुटेका थिए। पछिल्ला घटनाक्रमसँगै अध्यागमन कार्यालय फेरि विवादमा तानिएको छ।